प्राइम भिजन कलेजको भव्य दीक्षान्त समारोह सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ २८ गते।
धराने मिडिया : प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज (PVIHM), धरानले इटहरीस्थित होटल रामाडा बाइ विन्डहममा भव्य दीक्षान्त तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO) अविषेक श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख ऐन्द्र विक्रम बेघा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी LCCI GQ का हेड अफ पार्टनरशिप एन्ड ग्रोथ दिवस योञ्जन विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा स्नातक तथा प्रमाणपत्र वितरण समारोहसँगै उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक तथा नृत्य कार्यक्रमले समारोहलाई थप आकर्षक र उल्लासमय बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेघाले कलेजले सञ्चालन गरिरहेको व्यावसायिक तथा सीपमूलक शिक्षा कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि उदाहरणीय रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूले शैक्षिक ज्ञानसँगै व्यावसायिक सीपसमेत हासिल गरिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
बेघाले प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले धरानका विद्यार्थीहरूलाई मात्र नभई कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरूलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्दै धरानलाई शैक्षिक हबका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।

त्यसैगरी कलेजका प्रमुख कार्यकारी अधिकृत अविषेक श्रेष्ठले आतिथ्य तथा शैक्षिक क्षेत्रमा उदाहरणीय मापदण्ड स्थापित गर्ने उद्देश्यका साथ कलेज निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै कलेजप्रति विश्वास गरेर आफ्ना छोराछोरीलाई अध्ययनका लागि पठाउने सम्पूर्ण अभिभावकप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा कलेजका पूर्वविद्यार्थी अभय शाहले आफ्नो अनुभव साझा गर्नुभएको थियो। हाल एक प्रतिष्ठित रिसोर्टमा व्यवस्थापकको रूपमा कार्यरत शाहले कलेजबाट प्राप्त शिक्षा र सीपले आफ्नो व्यावसायिक यात्रामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
‘स्टुडेन्ट अफ द इयर २०२४/२५’ बाट सम्मानित सुषिला श्रेष्ठले आफ्नो सफलतामा कलेज, शिक्षक तथा अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आभार व्यक्त गर्नुभयो। कार्यक्रममा उहाँका अभिभावकले समेत विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा कलेजले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।

विशेष अतिथि दिवस योञ्जनले उद्योग र शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरहरूसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा कलेजका प्रमुख मार्केटिङ अधिकृत विशाल शंकरले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजको शैक्षिक गुणस्तर, उद्योगसँगको सहकार्य तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिबारे प्रकाश पार्नुभएको थियो।
कलेजले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार तथा उपाधि प्रदान गरेको थियो। +२ तहतर्फको Academic Performer Award भूमिका कटवालले प्राप्त गरेकी छन् भने ADHM कार्यक्रमतर्फको Academic Performer Award आयुष शंकरलाई प्रदान गरिएको छ।
त्यसैगरी शैक्षिक वर्ष २०२४/२५ को Student of the Year उपाधिबाट सुषिला श्रेष्ठ सम्मानित भएकी छन्। उनलाई पुरस्कार, प्रमाणपत्र तथा नगद राशिसहित सम्मान गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कलेजले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्नुका साथै उनीहरूलाई व्यावसायिक तथा व्यक्तिगत विकासतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।




















