प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ २४ गते।
धराने मिडिया : धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेज ले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कलेजले सञ्चालन गर्दै आएको एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट तथा इन्फर्मेशन टेक्नोलोजी कार्यक्रमका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गर्दै इटहरीस्थित Ramada by Wyndham Itahari मा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठ ले विद्यार्थीहरूलाई स्वागत गर्दै आधुनिक शिक्षा, व्यावसायिक दक्षता तथा अन्तर्राष्ट्रिय स्तरको करियर निर्माणका अवसरबारे जानकारी गराएका थिए। उनले विद्यार्थीहरूलाई अध्ययनका साथै व्यवहारिक सीप विकासमा समेत केन्द्रित हुन आग्रह गर्दै कलेजले गुणस्तरीय शिक्षा र रोजगारमुखी तालिम प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
अभिमुखीकरण कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक लर्निङ ब्याग तथा पुस्तकहरू निःशुल्क वितरण गरिएको थियो। त्यसैगरी हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक प्रशिक्षणका लागि आवश्यक किचन किटसमेत निःशुल्क उपलब्ध गराइएको कलेजले जनाएको छ।
कार्यक्रममा विभिन्न प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय शिक्षा प्रणाली, उद्योगसँगको सहकार्य, व्यावसायिक सीप विकास तथा विश्वव्यापी रोजगारीका सम्भावनाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूलाई कलेजका शैक्षिक गतिविधि, नियमावली, प्रशिक्षण प्रक्रिया तथा भविष्यका अवसरहरूबारे पनि जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले अभिमुखीकरण कार्यक्रमले आफूहरूलाई नयाँ शैक्षिक यात्राप्रति थप उत्साहित र प्रेरित बनाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले अन्तर्राष्ट्रियस्तरको शिक्षा, व्यावसायिक सीप विकास तथा विश्वव्यापी करियरका सम्भावनाबारे स्पष्ट जानकारी प्राप्त भएको बताएका छन्।
कलेजका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति सकारात्मक वातावरण सिर्जना गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।




















