पिण्डेश्वर चोकमा ऐतिहासिक सिरिसको रुख ढल्यो, विद्युत लाइन र मोटरसाइकलमा क्षति
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ २४ गते।
धराने मिडिया : धरान उपमहानगरपालिका–१५ स्थित पिण्डेश्वर चोकमा रहेको एक विशाल तथा ऐतिहासिक सिरिसको रुख ढल्दा विद्युत लाइनमा क्षति पुगेको छ। घटनाका कारण केही समय विद्युत सेवा प्रभावित भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार वर्षौंदेखि पिण्डेश्वर चोकको पहिचानका रूपमा रहेको उक्त सिरिसको रुख अचानक ढलेर सडक छेउमा रहेको विद्युत पोल तथा तारमाथि खसेको थियो। रुख ढल्दा विद्युतका तार चुँडिनुका साथै केही संरचनामा समेत क्षति पुगेको जनाइएको छ।
घटनामा कुनै मानवीय क्षति नभएकोले ठूलो दुर्घटना टरेको स्थानीयवासीले बताएका छन्। चोक क्षेत्रमा मानिसहरूको आवतजावत बाक्लो हुने भए पनि रुख ढल्ने समयमा आसपासमा सर्वसाधारण नरहेकाले मानवीय क्षति हुनबाट जोगिएको हो।

रुख ढल्दा स्थानीय एक व्यापारीको रातो रङको पल्सर मोटरसाइकलमा पनि क्षति पुगेको छ। सडक किनारमा पार्किङ गरी राखिएको मोटरसाइकलमाथि रुखको हाँगा खस्दा मोटरसाइकलको अगाडिको भाग तथा बडीमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।
पिण्डेश्वर चोकमा रहेको उक्त सिरिसको रुख स्थानीय इतिहास र पहिचानसँग जोडिएको मानिन्थ्यो। वर्षौंदेखि यात्रुहरूलाई छहारी प्रदान गर्दै आएको रुख ढलेपछि स्थानीयवासीले दुःख व्यक्त गरेका छन्। धेरैका लागि यो रुख पिण्डेश्वर क्षेत्रको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रतीकका रूपमा परिचित थियो।
घटनापछि स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू घटनास्थल पुगेका थिए। ढलेको रुख हटाउने तथा क्षतिग्रस्त विद्युत लाइन मर्मत गर्ने काम सुरु गरिएको जनाइएको छ। विद्युत आपूर्तिलाई यथाशीघ्र नियमित बनाउन प्राविधिक टोली खटिएको छ।
स्थानीयले पुराना तथा जोखिमयुक्त रुखहरूको नियमित निरीक्षण र व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार समयमै आवश्यक अध्ययन र संरक्षणको काम भए यस्ता घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेछ।

















