विद्याभूषण स्कुलमा प्लास्टिकजन्य सामग्री निरुत्साहित
समाचारदाता : साइमोन
२०८३ जेठ २३ गते।
धराने मिडिया : ५४ औं विश्व वातावरण दिवसको अवसरमा विद्याभूषण स्कुलका विद्यार्थीहरुले प्लास्टिकजन्य सामग्री निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयमा एक कार्यक्रम आयोजना गरी उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्लास्टिक तथा रासायनिक पदार्थको प्रयोग वातावरणका लागि गम्भीर चुनौती बनेको छ, त्यसैले आजदेखि हामी आफ्नो दैनिक जीवनमा प्लास्टिक तथा रासायनिक पदार्थको प्रयोग घटाउने दृढ संकल्प गर्दछौँ भन्दै कार्यक्रममा स्कुल क्याप्टेनद्वय अर्पणा लिम्बू र साइन राईले प्रतिबद्धता जनाए । सम्पूर्ण विद्यार्थीहरुका बीच उनीहरुले थपे कि हामी अनावश्यक प्लास्टिक प्याकेजिङ भएका खाद्यवस्तु तथा पेय पदार्थहरूको प्रयोग कम गर्नेछौँ, एकपटक मात्र प्रयोग गरिने प्लास्टिकका बोतल, झोला, स्ट्र, कप तथा अन्य सामग्रीहरूको प्रयोगलाई निरुत्साहित गर्नेछौँ साथै रासायनिक पदार्थ मिश्रित खाद्यान्नसमेत उपयोग गर्ने छैनौं । विद्यार्थी प्रतिनिधिहरुले प्रत्येक कक्षा र क्यान्टिनमा समेत गई यस विषयमा सचेत गराएका थिए ।
प्लास्टिकजन्य वस्तुहरुका सट्टा पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल, टिफिन बक्स, कपडाका झोला तथा वातावरणमैत्री सामग्रीहरूको प्रयोगलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको कुरा विद्यालयका प्रधानाध्यापक नुकेश काफ्लेले बताउनुभयो ।





















