रवि लामिछाने–नरेन्द्र मोदी भेटवार्ता: नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’को नयाँ आयाम दिने विषयमा छलफल

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ २१ गते।

धराने मिडिया : रवि लामिछाने र नरेन्द्र मोदी बीच भारतको राजधानी नयाँ दिल्ली मा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

वार्तामा नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक सीमाभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’को नयाँ अवधारणामार्फत अघि बढाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ। दुवै देशका नागरिकको साझा समृद्धि, आर्थिक सहकार्य, पूर्वाधार विकास, लगानी प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषय वार्ताको केन्द्रमा रहेको बताइएको छ।

भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतको सहभागिता रहेको उल्लेख गरिएको छ।

वार्ताका क्रममा दुई देशबीच व्यापार, पर्यटन, ऊर्जा, प्रविधि, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि विचार आदानप्रदान भएको जनाइएको छ। साथै, नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र साझा हितका आधारमा अझ प्रभावकारी बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल र भारतबीच रहेका अवसर तथा सम्भावनालाई ठोस उपलब्धिमा रूपान्तरण गर्दै दुवै देशका जनताको हितमा सहकार्य अघि बढाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।