प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै पुर्व वडा अध्यक्ष धनबहादुर राईको प्रश्न : “प्रधानमन्त्री नेपाली हो कि होइन, आशंका छ”
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १९ गते।
धराने मिडिया : श्रम संस्कृति पार्टीबाट धरान उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नगर प्रमुखका सम्भावित उम्मेदवार तथा पूर्व वडा अध्यक्ष धन बहादुर राई ले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
धरानको भानुचोकमा सोमबार आयोजित विरोध तथा ध्यानाकर्षण कार्यक्रममा बोल्दै राईले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाह ले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। उनले उक्त अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र नेपाली जनताको भावनामाथि चोट पुर्याएको दाबी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राईले प्रधानमन्त्रीको भनाइप्रति प्रश्न उठाउँदै भने, “यस्तो अभिव्यक्ति दिने व्यक्ति नेपाली हो कि होइन भन्ने आशंका उत्पन्न भएको छ।” उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरे।
राईले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले यस्ता विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने बताए। उनले सरकारका प्रमुख व्यक्तिबाट आएको भनाइले जनस्तरमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे।
भानुचोकमा आयोजित विरोध कार्यक्रममा विभिन्न स्थानीय नागरिक तथा राजनीतिक कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले राष्ट्रिय हित र सीमासम्बन्धी विषयमा सरकार स्पष्ट हुनुपर्ने माग गरेका थिए।
श्रम संस्कृति पार्टीका नेता राईले आगामी स्थानीय निर्वाचनमा धरानको विकास, सुशासन र स्थानीय पहिचानको संरक्षणलाई आफ्नो मुख्य एजेण्डा बनाउने बताएका छन्। उनले धरानको नेतृत्वका लागि आफू तयारी अवस्थामा रहेको र जनतामाझ निरन्तर पुगिरहेको उल्लेख गरे।
कार्यक्रममा वक्ताहरूले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा राजनीतिक दलहरूबीच साझा धारणा आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।




















