धराने राष्ट्रिय फुटबल खेलाडी मिलन राई सम्मानित

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ १८ गते।

धराने मिडिया : धरान फुटबलको गौरवपूर्ण पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका धरानका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित भएका छन्।

चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको विशेष अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले उनलाई नगद २१ हजार तथा सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो।

धरानको स्थानीय फुटबल मैदानबाट आफ्नो खेल जीवनको सुरुवात गरेका मिलन राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन् । उनले स्थानीय क्लबदेखि ए डिभिजन क्लबहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्दै धरानको नामलाई देश तथा विदेशमा परिचित गराउन  उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

फुटबलप्रतिको उनको समर्पण, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनले धरानका सयौं युवा खेलाडीहरूलाई प्रेरित गर्दै आएको छ। खेल जीवनभर उनले प्रदर्शन गरेको अनुशासन, संघर्ष र सफलताको यात्राले नयाँ पुस्ताका खेलाडीहरूका लागि उदाहरणीय मार्गदर्शन प्रदान गरेको छ।

उक्त अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबका अध्यक्ष  अशोक कुमार राईले मिलन राईलाई सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्दै उनको खेल जीवनको उच्च मूल्यांकन गरेका थिए। अध्यक्ष राईले धरानको फुटबल विकासमा मिलन राईको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि उनले नेपाली फुटबल र युवा पुस्तालाई प्रेरित गरिरहने विश्वास व्यक्त गरे।

क्लबका सचिव उमेश जिमीले धरान नेपाली फुटबलको उर्वर भूमि रहेको उल्लेख गर्दै मिलन राईजस्ता खेलाडीहरूले धरानको खेल इतिहासलाई समृद्ध बनाएको बताए। उनले खेलाडीको योगदानको उचित कदर गर्दै आगामी दिनमा पनि धरानका प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

सम्मान ग्रहणपछि मिलन राईले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिए। उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सम्पूर्ण खेलप्रेमी, प्रशिक्षक, परिवार तथा धराने फुटबल समुदायप्रति आभार व्यक्त गर्दै युवा खेलाडीहरूलाई मेहनत, अनुशासन र समर्पणका साथ अगाडि बढ्न आग्रह गरे।

धरान फुटबलको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएका खेलाडीलाई गरिएको यो सम्मानले खेल क्षेत्रका व्यक्तित्वहरूको योगदानको कदर गर्दै आगामी पुस्तालाई खेलप्रति अझ प्रेरित गर्ने विश्वास गरिएको छ।