धरानमा ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २९ गते।

धराने मिडिया : धरानमा पहिलो पटक प्रदेशस्तरीय बडीबिल्डिङ प्रतियोगिता ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबको आयोजनामा हुने प्रतियोगिताको छनोट चरण २०८३ असोज १० गते शनिबार र मुख्य प्रतियोगिता असोज ११ गते आइतबार सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–१८ स्थित दसेरा भवनमा आयोजना हुनेछ। कार्यक्रममा आयोजक, खेलाडी, राष्ट्रिय बडीबिल्डर, उपमहानगरपालिकाका कार्यपालिका सदस्य, सुनसरी बडीबिल्डिङ संघका पदाधिकारी तथा खेलप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-07-13 at 3.26.26 PM

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवामाझ बडीबिल्डिङ खेलको विकास र विस्तार गर्नु, स्वस्थ तथा सक्रिय जीवनशैलीको प्रवर्द्धन गर्नु तथा असंगठित रूपमा रहेका युवालाई खेलमार्फत सामाजिक तथा सिर्जनात्मक गतिविधिमा जोड्नु हो। साथै कुलतमा फसेका युवालाई खेलतर्फ आकर्षित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य पनि राखिएको छ।

प्रतियोगिताले युवालाई बेरोजगारी तथा विकृतिबाट टाढा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने विश्वास आयोजकको छ। यसबाट धरानलाई खेल पर्यटन तथा बडीबिल्डिङको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-07-13 at 3.26.25 PMWhatsApp Image 2026-07-13 at 3.26.24 PM (1)

धरानमा पहिलो पटक प्रदेशस्तरीय स्तरको बडीबिल्डिङ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदेश नम्बर–१ (कोशी प्रदेश) का खेलाडीका साथै प्रदेशको नागरिकता भएका तर देश–विदेशमा रहेका खेलाडीले पनि सहभागिता जनाउन पाउनेछन्। यद्यपि राष्ट्रिय स्तरको उपाधि जितिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

-प्रथम : रु. ३,००,०००

-द्वितीय : रु. २,००,०००

-तृतीय : रु. १,००,०००

-चौंथो : रु. ७५,०००

-पाँचौं : रु. ५०,०००

-छैटौं : रु. ३०,०००

यसैगरी तौल समूहअनुसार प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार पुरस्कार प्रदान गरिनेछ। साथै बेस्ट पोजर र मोस्ट मस्कुलर विधामा पनि रु. १०–१० हजार नगद पुरस्कार राखिएको छ।

WhatsApp Image 2026-07-13 at 3.26.24 PM

‘राजभगत’को योगदानको सम्मान

आयोजकले प्रतियोगिताको नाम नेपालका चर्चित बडीबिल्डर राजभगत प्रधानाङ्गको सम्मानमा राखिएको जनाएको छ। राजभगत नेपाली बडीबिल्डिङ क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका खेलाडी हुन्।

उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाएका छन्। दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुका साथै फिटनेस र बडीबिल्डिङ खेलको विकासमा महत्वपूर्ण योगदान दिएका कारण उनको सम्मानस्वरूप प्रतियोगितालाई ‘राजभगत क्लासिक’ नाम दिइएको आयोजकले जनाएको छ।

धरान फिटनेस क्लबले प्रतियोगितालाई वार्षिक रूपमा निरन्तर आयोजना गर्दै प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको समेत जनाएको छ।