विश्वकप २०२६ : मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २६ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बोस्टन स्टेडियममा बिहीबार राति (स्थानीय समय) सम्पन्न खेलमा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि फ्रान्सले दोस्रो हाफमा आक्रमणको तीव्रता बढायो। खेलको ६०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि ओस्मान डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्स २–० ले अघि बढ्यो। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन।

यस जितसँगै फ्रान्स लगातार अर्को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मोरक्को भने उत्कृष्ट यात्रा गर्दै क्वार्टरफाइनलसम्म पुगे पनि उपाधि यात्रालाई त्यहीँ टुंग्याउन बाध्य भयो।

फ्रान्सले अब सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त सेमिफाइनल खेल १५ जुलाई २०२६ (नेपाली समय अनुसार बिहान करिब १:४५ बजे) हुनेछ।

Fifa Worldcup 2026