तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक–२०८३ सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २० गते।

धराने मिडिया : तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक–२०८३ शनिबार सम्पन्न भएको छ। असार १३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता असार २० गते धरान–१६ स्थित धरान रंगशालामा समापन गरिएको हो। धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले प्रतियोगिता उत्साहपूर्ण बनेको आयोजकले जनाएको छ।

धरान खेलकुद मञ्चको आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा रहेका थिए। समारोहको अध्यक्षता धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले गरेका थिए। कार्यक्रममा विजेता खेलाडी, प्रशिक्षक तथा विद्यालयलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

WhatsApp Image 2026-07-04 at 9.13.18 PM

प्रतियोगिताको पदक तालिकामा माउण्ट हर्मन स्कुल उत्कृष्ट बन्दै शीर्ष स्थान हासिल गर्न सफल भयो। माउण्ट हर्मनले १३ स्वर्ण, २ रजत र ९ कास्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भएको हो।

त्यसैगरी सैनिक आवासीय स्कुल र पब्लिक हाई स्कुलले समान ७–७ स्वर्ण पदक जित्दै दोस्रो र तेस्रो स्थानका लागि कडा प्रतिस्पर्धा गरेका थिए। अन्य विद्यालयका खेलाडीहरूले पनि विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाएका थिए।

WhatsApp Image 2026-07-04 at 9.13.16 PM (1)

एक सातासम्म सञ्चालन भएको प्रतियोगितामा एथलेटिक्ससहित विभिन्न खेल विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। खेलमार्फत विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने, विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले विद्यालयस्तरको खेलकुदले भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले धरानलाई खेलकुदको सहरका रूपमा स्थापित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

WhatsApp Image 2026-07-04 at 9.13.16 PM

धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने धरान उपमहानगरपालिका, विद्यालय, प्रशिक्षक, निर्णायक, स्वयंसेवक, सुरक्षाकर्मी तथा अभिभावकप्रति आभार व्यक्त गरे। उनले विद्यार्थीहरूको उत्साहजनक सहभागिताले विद्यालयस्तरको खेलकुदप्रतिको आकर्षण अझ बढेको भन्दै आगामी संस्करणलाई थप भव्य र प्रतिस्पर्धात्मक बनाइने बताए।

आयोजकका अनुसार प्रतियोगिताले धरानका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै नयाँ खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। प्रतियोगिता समापनसँगै विजेता विद्यालय तथा खेलाडीहरूले आगामी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिताको तयारी सुरु गर्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-07-04 at 9.13.17 PM