इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाइयो
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १८ गते।
धराने मिडिया : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि २ प्रतिशतले घटाउने निर्णय गरेको छ। स्वचालित भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्यमा आएको कमीका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ भाडादर लागू गरेको हो।
मन्त्रालयका अनुसार अन्तरप्रदेश तथा राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको यात्रु भाडा २ प्रतिशतले घटाइएको छ। नयाँ भाडादर सम्बन्धित यातायात व्यवसायी, स्थानीय प्रशासन तथा सरोकारवाला निकायलाई जानकारी गराइसकिएको छ र तोकिएको मितिबाट लागू हुनेछ।
सरकारले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा डिजेलको मूल्यलाई मुख्य आधार मान्ने गरेको छ। डिजेलको मूल्यमा उल्लेख्य परिवर्तन भएपछि स्वचालित प्रणालीमार्फत भाडा समायोजन गरिने व्यवस्था छ। पछिल्लो समय नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि सोहीअनुसार यात्रुवाहक सवारीको भाडा पनि घटाइएको मन्त्रालयले जनाएको छ।
नयाँ निर्णयपछि लामो तथा छोटो दूरीका सार्वजनिक बस, माइक्रोबस, हाइस, मिनीबस लगायतका सवारी प्रयोग गर्ने यात्रुले अब अघिल्लोभन्दा कम भाडा तिर्नुपर्नेछ। यसबाट दैनिक यात्रा गर्ने सर्वसाधारणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यातायात व्यवसायीलाई सरकारले निर्धारण गरेको नयाँ भाडादर अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ। तोकिएकोभन्दा बढी भाडा असुलेमा सम्बन्धित व्यवसायी वा सवारीसाधनमाथि प्रचलित कानुनअनुसार कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।
यात्रुले आफूले यात्रा गर्ने सवारीको नयाँ भाडादरबारे जानकारी लिएर मात्र भाडा तिर्न तथा बढी भाडा असुलेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।
सरकारको यो निर्णयले इन्धनको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ यात्रुसम्म पुग्ने अपेक्षा गरिएको छ।




















