२३औं राष्ट्रिय धान दिवसमा धरानमा रोपाइँ महोत्सव, विद्यार्थीदेखि स्थानीयसम्मको उत्साहजनक सहभागिता (तस्विहरु)
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १५ गते।
धराने मिडिया : २३औं राष्ट्रिय धान दिवसको अवसरमा धरान उपमहानगरपालिका–६ पानबारीमा सोमबार १२औँ धरान रोपाइँ महोत्सव–२०८३ उत्साहपूर्वक सम्पन्न भएको छ। "जलवायुमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि र आत्मनिर्भरता" भन्ने राष्ट्रिय मूल नाराका साथ आयोजित कार्यक्रममा धरानका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, कृषक, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



सहभागी कृषि सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रम बिहान १० बजेदेखि कृषि सहकारी मार्गस्थित बायोग्यास प्लान्ट अगाडिको धान खेतमा सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले परम्परागत शैलीमा धान रोपेर राष्ट्रिय धान दिवसलाई उल्लासपूर्ण रूपमा मनाएका थिए।
धरानका विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूले पहिलोपटक धान रोपाइँको प्रत्यक्ष अनुभव लिँदै कृषिप्रति रुचि र सम्मान बढाउने अवसर पाएको प्रतिक्रिया दिएका थिए। रोपाइँसँगै खेतमा हिलो खेल्ने, सामूहिक रूपमा रोपाइँ गर्ने तथा स्थानीय संस्कृति झल्किने गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।



आयोजक सहभागी कृषि सहकारी संस्थाले जलवायु परिवर्तनका चुनौतीबीच आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा कृषि क्षेत्रको महत्व, धान खेतीको संरक्षण, युवापुस्तालाई कृषितर्फ आकर्षित गर्ने उद्देश्य तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिइएको थियो।



राष्ट्रिय धान दिवस प्रत्येक वर्ष असार १५ गते मनाइने गरिन्छ। यस दिन देशभर रोपाइँ महोत्सव, कृषि सचेतनामूलक कार्यक्रम तथा कृषक सम्मानलगायत विविध कार्यक्रम आयोजना गरिने परम्परा रहेको छ।
यस वर्षको धरान रोपाइँ महोत्सवले कृषि, संस्कृति र सामुदायिक एकताको सन्देश प्रवाह गर्दै विद्यार्थी पुस्तालाई नेपाली कृषि परम्परासँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।





























