विश्वकप २०२६ : जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिना नकआउट चरणमा प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १४ गते।
धराने मिडिया : विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलमा साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितसहित नकआउट (राउन्ड अफ ३२) मा प्रवेश गरेको छ। डलासमा सम्पन्न खेलमा प्रशिक्षक लियोनेल स्कालोनीले धेरै प्रमुख खेलाडीलाई विश्राम दिएका भए पनि अर्जेन्टिनाले सुरुदेखि नै खेलमा पकड जमाएको थियो।
अर्जेन्टिनाका लागि खेलको २०औँ मिनेटमा जियोभानी लो सेल्सोले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफमै लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिना २–० को सहज अवस्थामा पुग्यो। दोस्रो हाफमा जोर्डनले मुसा अल–तामारीमार्फत एक गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाउने प्रयास गर्यो। त्यसपछि बेन्चबाट मैदान प्रवेश गरेका कप्तान लियोनेल मेस्सीले ८०औँ मिनेटमा शानदार फ्रिकिक गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे। यो गोलसँगै मेस्सीले लगातार सात विश्वकप खेलमा गोल गर्ने कीर्तिमानलाई पनि निरन्तरता दिएका छन्।
जोर्डनले प्रतियोगितामा साहसी प्रदर्शन गरे पनि समूह चरणमा तीनै खेल गुमाउँदै बाहिरिएको छ। पहिलोपटक विश्वकप खेलेको जोर्डनले अर्जेन्टिनाविरुद्ध केही अवसर सिर्जना गरे पनि अनुभवी टोलीलाई रोक्न सकेन।
समूह ‘जे’ को विजेताका रूपमा अर्जेन्टिना अब राउन्ड अफ ३२ मा समूह ‘सी’का तेस्रो स्थान प्राप्त टोली केप भर्डे सँग भिड्नेछ। उक्त खेल अमेरिकाको मियामी गार्डेन्समा हुनेछ।
विश्वकपको नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल आज राति १२:४५ बजे (नेपाली समय) अमेरिकाको इङ्गलवुड, क्यालिफोर्नियास्थित सोफी स्टेडियममा हुनेछ।





















