‘थो माई आइज’ एकल कला प्रदर्शनी सुरु, कलाकार मनिष राई भन्छन्– “पैसा कमाउनभन्दा आत्मसन्तुष्टि महत्वपूर्ण”
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १० गते।
धराने मिडिया : युवा कलाकार मनिष राईको एकल कला प्रदर्शनी ‘Through My Eyes’ (थो माई आइज) धरानमा सुरु भएको छ। धरान–११ स्थित Elysian Gallery Cafe मा आयोजित प्रदर्शनी असार ६ गते शनिबारदेखि सुरु भई असार १३ गते शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
धरान–८ निवासी कलाकार मनिष राईले आफ्नो सिर्जनात्मक यात्रालाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हुन्। जन्म र कर्म दुवै धरानमै रहेको बताउने राईले कला आफ्नो लागि केवल आम्दानीको माध्यम नभई आत्मसन्तुष्टि र भावनाको अभिव्यक्तिको माध्यम भएको बताए।


प्रदर्शनीको उद्घाटन अवसरमा कलाकार राईले आफूले चित्रकला मार्फत जीवन, समाज, अनुभूति र आफ्ना दृष्टिकोणलाई अभिव्यक्त गर्ने प्रयास गरेको बताए। “मेरो मुख्य उद्देश्य पैसा कमाउनु होइन, कला मार्फत आत्मसन्तुष्टि प्राप्त गर्नु हो,” उनले भने, “प्रदर्शनीबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक सेवामूलक तथा च्यारिटी कार्यमा खर्च गर्ने योजना पनि बनाएको छु।”
प्रदर्शनीमा विभिन्न विषयवस्तुमा आधारित चित्र तथा कलाकृतिहरू राखिएका छन्। कला पारखी, विद्यार्थी, युवा कलाकार तथा सर्वसाधारण दर्शकहरूको उपस्थितिले प्रदर्शनीलाई थप आकर्षक बनाएको छ। प्रदर्शनी अवलोकन गर्न आउनेहरूले कलाकारको दृष्टिकोण, भावना र सिर्जनशीलतालाई नजिकबाट बुझ्न सक्ने अवसर पाएका छन्।


क्याफेका सञ्चालक कायुङ राईले नयाँ सञ्चालनमा आएको क्याफेमा यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना हुन थालेकोमा खुसी व्यक्त गरे। उनले क्याफे स्थापना गर्दा कला, साहित्य र सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताउँदै प्रदर्शनीले उक्त उद्देश्य पूरा गर्न सहयोग पुगेको उल्लेख गरे।
“कफीसँगै कला साटासाट गर्ने वातावरण निर्माण गर्नु हाम्रो चाहना हो,” उनले भने, “आगामी दिनहरूमा पनि यस्ता कला प्रदर्शनी, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना छ।”


धरानमा पछिल्लो समय कला र संस्कृतिप्रति युवापुस्ताको आकर्षण बढ्दै गइरहेका बेला ‘Through My Eyes’ प्रदर्शनीले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको विश्वास छ। प्रदर्शनी असार १३ गतेसम्म दैनिक रूपमा सर्वसाधारणका लागि खुला रहनेछ।
























