विश्वकप २०२६ : न्युजिल्यान्डलाई २ गोलको अन्तरले हराउँदै इजिप्टको ऐतिहासिक जित

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ८ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को महत्वपूर्ण खेलमा Egypt ले New Zealand माथि ३–१ को शानदार पुनरागमन जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा सोमबार सम्पन्न खेलमा सुरुआती अग्रता गुमाए पनि इजिप्टले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोलको अन्तरको जित निकाल्यो।

यो जितसँगै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ भने न्युजिल्यान्डको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

इजिप्ट अफ्रिका र अरब क्षेत्रबाट विश्वकप खेल्ने पहिलो राष्ट्र हो। उसले सन् १९३४, १९९०, २०१८ र २०२६ गरी चार पटक विश्वकपमा स्थान बनाएको छ। २०२६ अघि इजिप्टले विश्वकपमा कुनै खेल जित्न सकेको थिएन। न्युजिल्यान्डविरुद्धको यो जित विश्वकप इतिहासकै पहिलो जित बनेको छ।

न्युजिल्यान्डले सन् १९८२, २०१० र २०२६ मा विश्वकपमा सहभागिता जनाएको छ। २०१० विश्वकपमा उसले इटाली, स्लोभाकिया र पाराग्वेसँग बराबरी खेलेर अपराजित रहँदा पनि समूह चरणबाटै बाहिरिएको थियो। ओसियाना क्षेत्रको बलियो टोलीका रूपमा चिनिने न्युजिल्यान्ड अहिले पनि विश्वकपमा पहिलो जितको खोजीमा छ।

समूह ‘जी’ अन्तर्गत अब इजिप्टले आफ्नो तेस्रो तथा अन्तिम समूह चरणको खेल बेल्जियमसँग खेल्नेछ भने न्युजिल्यान्डले इरानको सामना गर्नेछ। यी खेलहरू समूह विजेता र नकआउट चरणमा पुग्ने टोली निर्धारणका लागि निर्णायक हुनेछन्।

Fifa Worldcup 2026