विविध प्रस्तुतिसहित माउन्ट मकालु स्काउट ट्रुपद्वारा नेपाल स्काउटको ७५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

समाचारदाता : बब्लु

मोरङ, २०८३ असार ६ गते।

धराने मिडिया : मोरङको सुन्दरहरैँचा-३ गछिया स्थित माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा सञ्चालित माउन्ट मकालु स्काउट ट्रुपले नेपाल स्काउटको ७५औँ स्थापना दिवस (हिरक जयन्ती) विशेष र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ।

"सधैं तयार" को मूल मन्त्रलाई आत्मसात गर्दै विद्यालयमा आयोजित उक्त विशेष समारोहको उद्घाटन तथा सभापतित्व विद्यालयका प्रधानाध्यापक हेमन्त कार्कीले केक काटेर गर्नुभएको थियो।

​नेपाल स्काउटको ७५ वर्षे गौरवशाली इतिहासलाई स्मरण गर्दै आयोजित यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा 'मकालु दर्पण' नामक स्काउट बुलेटिन सार्वजनिक गरिएको थियो। उक्त बुलेटिनको विमोचन गर्दै कार्यक्रमका सभापति एवं प्रधानाध्यापक हेमन्त कार्कीले स्काउटिङले विद्यार्थीहरूमा अनुशासन, राष्ट्रप्रेम र नि:स्वार्थ सेवाको भावना विकास गर्ने बताउनुभयो। उहाँले विद्यालयले स्काउटिङ गतिविधिलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा 'मकालु दर्पण' जस्ता रचनात्मक प्रकाशनले स्काउटका गतिविधिहरूलाई उजागर गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

WhatsApp Image 2026-06-20 at 6.34.17 AM (1)

​समारोहमा माउन्ट मकालु स्काउट ट्रुपका स्काउट छात्रछात्राहरूले आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेका थिए। दिवसको उमङ्ग थप्दै स्काउटहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने जोशिला गीतहरू गायन र उत्कृष्ट कविता वाचन गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए।

​उक्त विशेष कार्यक्रमको सञ्चालन स्काउट लिडर बब्लु शाहले गर्नुभएको थियो। कार्यक्रम सञ्चालनका क्रममा लिडर शाहले स्काउटहरूलाई समाजमा सकारात्मक प्रभाव पार्न र आफ्नो कर्तव्यप्रति सदैव बफादार रहन उत्प्रेरित गर्दै महत्वपूर्ण प्रेरणादायी सुझाव तथा मार्गदर्शन समेत दिनुभएको थियो।

WhatsApp Image 2026-06-20 at 6.34.17 AM

​कार्यक्रममा स्काउटर सुजन थापा, विद्यालयका शिक्षक शिक्षिकाहरू, रोभर तथा रेन्जरहरूका साथै स्काउटहरूको बाक्लो र उल्लासमय उपस्थिति रहेको थियो।

​नेपाल स्काउट स्थापनाको ७५औँ वर्ष पुगेको यस ऐतिहासिक अवसरमा आयोजित यो कार्यक्रमले विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रष्फुटन गराउनुका साथै स्काउटिङको महत्त्वलाई समुदाय स्तरमा अझ उजागर गरेको सहभागीहरूले बताएका छन्।