अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने
समाचारदाता : गोपाल पौडेल
२०८३ असार ४ गते।
धराने मिडिया : अमेरिका र इरानले लामो समयदेखि जारी द्वन्द्व तथा तनाव अन्त्य गर्ने उद्देश्यका साथ ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएसँगै युद्धविरामलाई थप मजबुत बनाउने, क्षेत्रीय स्थिरता कायम गर्ने तथा आगामी ६० दिनभित्र महत्वपूर्ण राजनीतिक र आणविक विषयमा थप वार्ता अघि बढाउने सहमति भएको छ।
म्झौताअनुसार इरानले रणनीतिक रूपमा महत्वपूर्ण रहेको होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ भने अमेरिकाले इरानमाथि लगाइएका केही नाकाबन्दी तथा प्रतिबन्धहरू खुकुलो बनाउने प्रक्रिया अघि बढाउने जनाएको छ। दुवै पक्षले खाडी क्षेत्रमा समुद्री आवागमन सुरक्षित बनाउने र थप सैन्य टकरावबाट जोगिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस सम्झौताले विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। होर्मुज जलडमरूमध्य पुनः खुल्ने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम देखिएको छ। विश्वका विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि यस सम्झौताको स्वागत गरेका छन्।
नेपाल सरकारले समेत अमेरिका–इरानबीच भएको शान्ति सम्झौताको स्वागत गर्दै यसलाई मध्यपूर्वमा स्थायित्व र शान्ति स्थापनातर्फको महत्वपूर्ण कदम भनेको छ।
विश्लेषकहरूका अनुसार सम्झौताले तत्काल युद्धको जोखिम कम गरे पनि इरानको आणविक कार्यक्रम, प्रतिबन्ध हटाउने प्रक्रिया र क्षेत्रीय सुरक्षाजस्ता विषयमा अझै विस्तृत वार्ता आवश्यक रहनेछ।




















