कक्षा १२ को नतिजा सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ५ गते।

धराने मिडिया : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार (आज) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 

यस वर्षको कक्षा १२ परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा सम्पन्न भएको करिब ४० दिनपछि बोर्डले उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि, रुजु तथा प्रमाणीकरण प्रक्रिया पूरा गरी नतिजा सार्वजनिक गरेको जनाएको छ।

सार्वजनिक नतिजा अनुसार यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् भने परीक्षामा १७ हजार ७ सय ८६ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् ।

विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको आधिकारिक वेबसाइटमार्फत, एसएमएस सेवा तथा टेलिफोन सेवाबाट हेर्न सक्नेछन्। नतिजा सार्वजनिक भएसँगै वेबसाइटमा अत्यधिक चाप पर्ने भएकाले केही समय ढिलाइ हुन सक्ने बोर्डले जनाएको छ।