विश्वकप २०२६ : हाइटीमाथि ब्राजिलको फराकिलो जित, नकआउट चरण नजिक
समाचारदाता : गोपाल पौडेल
२०८३ असार ६ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। अमेरिकाको फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा सम्पन्न खेलमा ब्राजिलले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
सुरुआती खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिल यस खेलमा जित निकाल्ने दबाबमा थियो।
ब्राजिलका लागि पहिलो गोल २३औँ मिनेटमा स्ट्राइकर म्याथियस कुञ्हाले गरे। त्यसपछि ३६औँ मिनेटमा कुञ्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्त्यतिर स्टार फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई ३–० को आरामदायी अवस्थामा पुर्याए।
ब्राजिल विश्व फुटबलको सबैभन्दा सफल राष्ट्र हो। ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक विश्वकप उपाधि जितेको छ। विश्वकपका सबै संस्करणमा छनोट हुने एकमात्र राष्ट्रका रूपमा पनि ब्राजिल परिचित छ।
हाइटी विश्वकपमा तुलनात्मक रूपमा नयाँ र दुर्लभ सहभागी टोली हो। हाइटीले पहिलो पटक १९७४ मा विश्वकप खेलेको थियो र त्यसपछि लामो अन्तरालपछि २०२६ संस्करणमा पुनः स्थान बनाएको हो।
समूह चरणको अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जुन २५, २०२६ (बिहीबार) बिहान करिब ६:४५ बजे नेपाली समय मा हुनेछ।





















