दोस्रो धरान खुल्ला तथा राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय व्यय सार्वजनिक, रु. १ लाख ५९ हजार ९७० नगद मौज्दात

समाचारदाता : गोपाल पौडेल

२०८३ असार  ७ गते।

धराने मिडिया : धरान ब्याडमिन्टन क्लबको आयोजनामा सम्पन्न दोस्रो धरान खुल्ला तथा राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३ को आय व्यय सार्वजनिक गरिएको छ । 

प्रतियोगिताको आय–व्यय विवरण अनुसार प्रतियोगिताबाट कुल रु. १७ लाख ४० हजार ९ सय आम्दानी भएको छ। आयका मुख्य स्रोतहरूमा स्थानीय खेलाडी सहभागिता शुल्क रु. ४२,५००, खुल्ला खेलाडी सहभागिता शुल्क रु. १,४९,४००, विभिन्न संघ–संस्था, पालिका तथा वडा कार्यालयको सहयोग रु. ६,९१,०००, विभिन्न व्यक्ति, व्यापारी तथा व्यावसायिक प्रतिष्ठानको सहयोग रु. ८,५८,००० रहेको छ।

प्रतियोगितामा कुल रु. १५ लाख ८० हजार ९३० खर्च भएको विवरण सार्वजनिक गरिएको छ। खर्चतर्फ पुरस्कार वितरणमा सबैभन्दा बढी रु. ७ लाख ९१ हजार खर्च गरिएको देखिएको छ। त्यसबाहेक हल भाडा, खेल सामग्री, प्रचार–प्रसार, होटल, खाना तथा व्यवस्थापनका विभिन्न शीर्षकमा रकम खर्च गरिएको छ।

आय–व्यय विवरण अनुसार प्रतियोगिता सम्पन्न भएपछि रु. १ लाख ५९ हजार ९७० नगद मौज्दात रहेको क्लबले जनाएको छ।

WhatsApp Image 2026-06-21 at 1.13.07 PM

गत जेठ १८ देखि २० गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका साथै भारतको नागरिकसमेत गरी करिब १०७ टिमका २१४ खेलाडी सहभागी भएका थिए।

प्रतियोगिताले पूर्वी नेपालमा ब्याडमिन्टन खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना तथा राष्ट्रिय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा पुरुष तथा महिला विधाका विभिन्न प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।

प्रतियोगिताको समुद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले गरेका थिए। उद्घाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष चन्द्रशेखर लामा, कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष, प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधि तथा विभिन्न खेलकुदकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन समारोहमा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समारोहमा विजेता तथा उपविजेता खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

WhatsApp Image 2026-06-21 at 1.13.08 PM

प्रतियोगितामा निम्न खेलाडी तथा टोली विजेता बनेका थिए ः

पुरुष डबल्स (खुल्ला) - देवराज रानाभाट र तितिन खनाल

पुरुष भेट्रान १००+ - सूर्यन योजन र इन्द्र महता

पुरुष सिंगल्स - विधान अधिकारी

मिक्स डबल्स - सुनिलजंग कार्की र तिर्सना भुल्ला

महिला डबल्स - रशिला महर्जन र अमिता गिरी

महिला सिंगल्स - रशिला महर्जन

धरान ब्याडमिन्टन क्लबले प्रतियोगिताको सफल आयोजनाले धरानलाई राष्ट्रिय स्तरको ब्याडमिन्टन केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुगेको जनाएको छ। प्रतियोगितामा देशभरका खेलाडीको सहभागिताले खेलप्रतिको आकर्षण बढ्नुका साथै नयाँ खेलाडीलाई प्रेरणा मिलेको आयोजकको विश्वास छ।

क्लबले आगामी वर्षहरूमा अझ व्यवस्थित र बृहत् रूपमा प्रतियोगिता आयोजना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई धरानमा भित्र्याउने योजना रहेको समेत जनाएको छ।

WhatsApp Image 2026-06-21 at 1.13.08 PM (1)