ट्राफिक नियम उल्लङ्घनमा कडा प्रहार : जरिवाना रकम उल्लेख्य रूपमा बढाउने प्रस्ताव, पहिलो पटक नै १ लाख रुपैयाँसम्म जरिवाना

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ११ गते।

धराने मिडिया : सरकारले सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनलाई समयानुकूल बनाउन ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि लाग्ने जरिवाना रकम उल्लेख्य रूपमा वृद्धि गर्ने प्रस्ताव अघि सारेको छ। प्रस्तावित व्यवस्थाअनुसार विभिन्न ट्राफिक कसुरमा हालको तुलनामा धेरै गुणा बढी जरिवाना तोकिने भएको छ।

सबैभन्दा कडा व्यवस्था मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकका लागि प्रस्ताव गरिएको छ। नयाँ व्यवस्थाअनुसार मापसे गरेर सवारी चलाएको पाइएमा न्यूनतम २५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। हाल यस्तो कसुरमा ४ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म मात्र जरिवाना लाग्ने व्यवस्था छ।

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने, वान वे (एकतर्फी सडक) मा प्रवेश गर्ने तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई सोझै १० हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। हाल यस्ता कसुरमा ४ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लाग्दै आएको छ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) विना सवारी चलाउने तथा दर्ता भएको प्रयोजनभन्दा फरक काममा सवारी साधन प्रयोग गर्नेलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गरिने प्रस्ताव छ। अहिले यस्ता कसुरमा अधिकतम २ हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ।

गति सीमा उल्लङ्घनलाई पनि गम्भीर कसुरका रूपमा लिँदै तोकिएको सीमाभन्दा बढी गतिमा सवारी चलाएमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। हाल यस्तो कसुरमा १ हजार रुपैयाँ जरिवाना लाग्ने गरेको छ।

दुई पाङ्ग्रे सवारी साधन चालकले हेलमेट नलगाएमा ३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। हाल हेलमेट नलगाउँदा ४ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लाग्दै आएको छ।

सवारी साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी वा कालो सिसा राख्ने तथा अन्य वस्तुले छेक्ने कार्यलाई नियन्त्रण गर्न पहिलो पटक नै १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कडा व्यवस्था प्रस्ताव गरिएको छ।

सडकमा मालसामान, निर्माण सामग्री, पशुचौपाया वा सवारी साधन राखेर आवागमनमा अवरोध पुर्‍याउने व्यक्तिलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। हाल यसमा १ हजार रुपैयाँ मात्र जरिवाना लाग्ने व्यवस्था रहेको छ।

प्रस्तावित व्यवस्थाअनुसार जेब्राक्रसिङ वा तोकिएको स्थानभन्दा बाहेक अन्यत्रबाट सडक पार गर्ने पैदलयात्रीलाई समेत ५ सय रुपैयाँ जरिवाना गरिनेछ।

त्यसैगरी अनुमति नलिई नेपालमा सञ्चालन गरिएका विदेशी नम्बर प्लेटका सवारी साधनलाई २५ हजार रुपैयाँसम्म जरिवाना गरिने प्रस्ताव छ। हाल यस्तो कसुरमा ५ हजार रुपैयाँ जरिवाना लाग्ने गरेको छ।

ओभरटेक गर्न निषेध गरिएको वा असुरक्षित स्थानमा ओभरटेक गर्ने चालकलाई २ हजार रुपैयाँ जरिवाना गरिनेछ भने गुडिरहेको सवारी साधनबाट सडकमा फोहोर फाल्नेलाई १ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन मिटरमा जान अस्वीकार गर्ने ट्याक्सी चालकलाई ३ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरिएको छ। यस्तै, दुई पाङ्ग्रे सवारी साधनमार्फत अनधिकृत रूपमा अफलाइन राइड सेयरिङ सेवा प्रदान गरेमा २ हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।

सरकारले प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि सडक सुरक्षा मजबुत हुने, ट्राफिक अनुशासन कायम हुने तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको छ। यद्यपि जरिवाना रकम अत्यधिक बढाइएको भन्दै यस विषयमा सार्वजनिक बहससमेत सुरु भएको छ।