अन्ततः असार १३ गतेदेखि सञ्चालनमा आउँदै धरान–८ को आधुनिक नयाँ बसपार्क, लामो प्रतीक्षाको अन्त्य
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १२ गते।
धराने मिडिया : लामो समयदेखि निर्माण सम्पन्न भएर पनि विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा प्रशासनिक कारणले सञ्चालनमा आउन नसकेको धरान–८ स्थित आधुनिक नयाँ बसपार्क अन्ततः असार १३ गते (शनिबार) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। यससँगै वर्षौंदेखिको प्रतीक्षाको अन्त्य भएको भन्दै स्थानीयवासी, यातायात व्यवसायी तथा सरोकारवालाले खुसी व्यक्त गरेका छन्।
आज बसेको सरोकारवालाबीचको छलफलले असार १३ गतेदेखि बसपार्क सञ्चालन गर्ने निर्णयलाई अन्तिम रूप दिएको हो। निर्णयसँगै नयाँ बसपार्क सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।


धरान उपमहानगरपालिकाका नगर प्रमुख आईन्द्र विक्रम बेघाले शनिबार बिहान ८ बजे आयोजना हुने उद्घाटन तथा सञ्चालन कार्यक्रममा सम्पूर्ण धरानवासी, यातायात व्यवसायी, सामाजिक अगुवा तथा सरोकारवालालाई उपस्थितिका लागि निमन्त्रणा दिएका छन्। नगर प्रमुख बेघाले आधुनिक बसपार्क सञ्चालनसँगै धरानको सार्वजनिक यातायात व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र आधुनिक बन्ने विश्वास व्यक्त गरेका छन्।

धरान–८ का वडा अध्यक्ष धन बहादुर राईले नयाँ बसपार्क सञ्चालनमा आउनु वडा र धरानकै लागि ऐतिहासिक उपलब्धि भएको बताए। लामो समयदेखि नागरिकले अपेक्षा गरेको पूर्वाधार अन्ततः प्रयोगमा आउन लागेको भन्दै उनले सबै पक्षको सहकार्यका कारण यो सम्भव भएको उल्लेख गरे। बसपार्कलाई सफा, व्यवस्थित र यात्रुमैत्री बनाउन सबैले सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।

नयाँ बसपार्क सञ्चालनसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनलाई एउटै व्यवस्थित स्थानबाट सञ्चालन गर्ने योजना रहेको छ। यात्रुका लागि प्रतीक्षालय, टिकट काउन्टर, पार्किङ, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य आधारभूत सुविधा उपलब्ध गराइने तयारी गरिएको छ। यसले बजार क्षेत्रको ट्राफिक चाप घटाउन, यात्रुलाई सहज सेवा दिन तथा सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बसपार्कको इतिहास
धरानको पुरानो बसपार्क साँघुरो बन्दै जाँदा आधुनिक सुविधासम्पन्न नयाँ बसपार्क निर्माणको अवधारणा अघि सारिएको थियो। त्यसअनुसार धरान–८ मा अत्याधुनिक बसपार्क निर्माणको काम सुरु गरिएको थियो। निर्माण सम्पन्न भए पनि सञ्चालनको मोडालिटी, व्यवस्थापन, पहुँच मार्ग, व्यवसायीबीचको सहमति तथा अन्य प्रशासनिक विषयका कारण बसपार्क लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन।
यस अवधिमा बसपार्क सञ्चालनका लागि पटक–पटक छलफल, निर्णय र तयारी भए पनि विभिन्न कारणले कार्यान्वयन हुन सकेको थिएन। अन्ततः सबै पक्षबीच सहमति जुटेपछि असार १३ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय भएको हो।
स्थानीयवासीले आधुनिक बसपार्क सञ्चालनसँगै धरानको यातायात प्रणालीमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन्। यसले यात्रुलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै धरानलाई पूर्वी नेपालको व्यवस्थित यातायात केन्द्रका रूपमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




















