गृहमन्त्री र गृहसचिवकै सवारीबाट हटाइयो कालो सिसा, ‘कानुन सबैका लागि बराबर’ भन्ने सन्देश
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १६ गते।
धराने मिडिया : नेपाल प्रहरीले देशभर सवारीसाधनमा जडान गरिएका अवैध कालो सिसा (ब्ल्याक फिल्म) हटाउने अभियानलाई तीव्र बनाइरहेका बेला गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ ले आफ्नै सरकारी सवारीबाट कालो स्टिकर हटाएर कानुन कार्यान्वयनमा उदाहरण प्रस्तुत गरेका छन्।
ट्राफिक प्रहरीले केही दिनयता सवारीसाधनमा लगाइएका कालो स्टिकर हटाउने विशेष अभियान सञ्चालन गरिरहेको छ। यही अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्री गुरुङ स्वयं ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सरकारी सवारीमा जडान गरिएको कालो स्टिकर हटाइदिन निर्देशन दिएका थिए।
गृहमन्त्रीको निर्देशनपछि ट्राफिक प्रहरीले गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारीसाधनमा रहेको कालो स्टिकर हटाएको हो। यस कदमले कानुनको कार्यान्वयन सर्वसाधारणमा मात्र सीमित नरही राज्यका उच्च पदस्थ अधिकारीबाटै सुरु हुनुपर्ने सन्देश दिएको छ।
गृहमन्त्री गुरुङले सडक सुरक्षा, पारदर्शिता र कानुनको समान कार्यान्वयनका लागि सबैले नियम पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि व्यक्ति वा पदका आधारमा कानुनको फरक व्याख्या हुन नहुने उल्लेख गर्दै आफूबाटै नियम पालनाको अभ्यास सुरु गरिएको बताएका छन्।
ट्राफिक प्रहरीका अनुसार सवारीसाधनमा जडान गरिएका अत्यधिक कालो स्टिकरले चालकको दृश्य क्षमता प्रभावित गर्नुका साथै सुरक्षा निकायलाई निगरानी तथा अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले यस्ता स्टिकर हटाउने अभियान सञ्चालन गरिएको हो। आवश्यक मापदण्डभन्दा बढी गाढा कालो फिल्म प्रयोग गर्नु प्रचलित कानुनी व्यवस्थाविपरीत मानिन्छ।
प्रहरीले निजी, सरकारी तथा सार्वजनिक सबै प्रकारका सवारीसाधनमा समान रूपमा अभियान सञ्चालन गरिरहेको जनाएको छ। अभियानका क्रममा कालो स्टिकर हटाउन अटेर गर्ने सवारीधनीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
ट्राफिक प्रहरीले सबै सवारीधनीलाई आफ्नो सवारीमा जडान गरिएको अवैध कालो स्टिकर स्वेच्छाले हटाई सुरक्षित, पारदर्शी र कानुनसम्मत सवारी सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ।




















