कोशी प्रदेशकै उत्कृष्ट सामाजिक शिक्षक बने शारदा मा.बि.का सुमन बिकल

समाचारदाता : तिर्थ कार्की

२०८३ असार १७ गते।

धराने मिडिया : संखुवासभाको चैनपुर नगरपालिका-३ पोखरीस्थित शारदा माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक सुमन बिकल कोशी प्रदेशकै उत्कृष्ट सामाजिक विषय शिक्षक घोषित भएका छन्।

शिक्षा विकास निर्देशनालय, धनकुटाले सञ्चालन गरेको "सामाजिक विषय शिक्षण प्रतियोगिता" मा प्रथम स्थान हासिल गर्दै बिकलले प्रदेशभरका शिक्षकबीच आफूलाई उत्कृष्ट सावित गरेका हुन्।

उक्त प्रतियोगिता गत चैत महिनादेखि विभिन्न चरणमा सञ्चालन गरिएको थियो। विद्यालय, स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरीय प्रतिस्पर्धा पार गर्दै बिकलले अन्तिम चरणमा पहिलो स्थान हासिल गरेका हुन्।

प्रतियोगितामा धनकुटाका किशोर भण्डारी द्वितीय तथा ओखलढुंगाका घनबहादुर काफ्ले तृतीय भएका छन्।

सुमन बिकलको यो उपलब्धिले शारदा माध्यमिक विद्यालय, संखुवासभा जिल्ला तथा समग्र कोशी प्रदेशको शिक्षा क्षेत्रमा गौरव थपेको छ। उनकाे सफलताप्रति विद्यालय, विद्यार्थी, अभिभावक,शुभचिन्तक तथा स्थानीयवासीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।