विश्वकप २०२६ : अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा
समाचारदाता : गोपाल पौडेल
२०८३ असार २३ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले घरेलु समर्थकको साथ पाएको अमेरिकालाई ४–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। सियाटलस्थित लुमेन फिल्डमा सोमबार राति (स्थानीय समय) सम्पन्न खेलमा बेल्जियमले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाको विश्वकप यात्रालाई समाप्त गर्यो।
यसअघि सोमबार नै सम्पन्न अर्को अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा गरिएको निर्णायक गोलले स्पेनलाई अन्तिम आठमा पुर्याएको हो।
अब क्वार्टरफाइनलमा बेल्जियमले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जुलाई १० मा अमेरिकाको फिलाडेल्फियामा हुनेछ। नेपाली समयअनुसार उक्त खेल जुलाई ११ गते बिहान करिब १२:४५ बजे सुरु हुनेछ।
विश्वकप अन्तर्गत अब हुने अन्तिम १६ का बाँकी दुई खेलमा अर्जेन्टिना र इजिप्ट तथा स्वीट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना–इजिप्टको खेल नेपाली समयअनुसार आज राति ९:४५ बजे सुरु हुनेछ भने स्वीट्जरल्यान्ड–कोलम्बियाको खेल भोलि बिहान १:४५ बजे हुनेछ। विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ।





















