गृहमन्त्री र स्वास्थ्यमन्त्रीको निरीक्षणको दुई दिनपछि बीपीबाट १० जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८३ असार २५ गते।
धराने मिडिया : स्वास्थ्यमन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त निरीक्षण गरेको दुई दिनपछि प्रतिष्ठान परिसरबाट अवैध बिचौलियाको आरोपमा १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा उपचारका लागि आउने बिरामी तथा आफन्तलाई सस्तो मूल्यमा औषधि मिलाइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।
प्रहरीका अनुसार धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि शंकास्पद गतिविधि गरिरहेका व्यक्तिहरूमाथि निगरानी गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि आइतबार स्वास्थ्यमन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले प्रतिष्ठानको संयुक्त निरीक्षण गर्दै बिरामीले भोगिरहेका समस्या, उपचार सेवा, औषधि वितरण प्रणाली तथा प्रतिष्ठानभित्र देखिएको बिचौलियाको गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेका थिए। उनीहरूले स्वास्थ्य सेवा पारदर्शी र प्रभावकारी बनाउन तथा बिचौलियामाथि कडाइका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
यता, प्रहरीले कारबाही थालेपछि औषधि व्यवसायीहरूले विरोध जनाउँदै प्रतिष्ठान परिसरका करिब दुई सय मेडिकल पसल बन्द गरेका थिए। व्यवसायीहरूले आफूहरूमाथि अन्याय भएको दाबी गर्दै विरोध जनाएका थिए। भने, छलफलपछि हाल ती सबै मेडिकल पसल पुनः सञ्चालनमा आएका छन्।
पक्राउ परेकाहरू
१. सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ निवासी रन्जित कुमार चौधरी (३७)
२. सप्तरी राजविराज नगरपालिका–६ निवासी रविना मण्डल (२७)
३. भोजपुर आमचोक गाउँपालिका–८ निवासी हस्त श्रेष्ठ (३५)
४. सुनसरी धरान–१५ निवासी सागर पोखरेल (२०)
५. मोरङ लेटाङ नगरपालिका–३ निवासी सान्बिन किराती (२९)
६. सुनसरी धरान–६ निवासी मनिष बुढाथोकी (२३)
७. उदयपुर चौदण्डीगढी नगरपालिका–५ निवासी उमेशकुमार चौधरी (४०)
८. सुनसरी धरान–१७ निवासी धीरोज निरौला (३५)
९. सुनसरी इनरुवा नगरपालिका–२ निवासी रोहित मेहता (३१)
१०. सुनसरी धरान–११ निवासी विनोद भट्टराई (१८)
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।





















