नगरस्तरीय अन्तर्ट्रुप वक्तृत्वकला प्रतियोगिता सम्पन्न
समाचारदाता : मधुसूदन घिमिरे
२०८३ असार २९ गते।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानले असार २८ गते स्व. अनुप योन्जन तामाङको स्मृति दिवसका अवसरमा अन्तर्ट्रुप वक्तृत्वकला प्रतियोगिता स्थानीय स्काउटको प्रमुख आयुक्त मधुसूदन घिमिरेको सभापतित्वमा सम्पन्न भएको छ ।
'लागुपदार्थमुक्त समाज निर्माणमा स्काउटको भूमिका´ विषयक वक्तृत्वमा धरानका स्काउट सञ्चालन भएका १३ विद्यालयबाट स्काउट विद्यार्थीहरु सहभागी भएका थिए ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्रविक्रम वेघा प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शैक्षिक पद्धति आयुक्त सुशील राई, शिक्षा महाशाखा प्रमुख तथा स्थानीय स्काउट सचिव ध्रुवराज खड्का, पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई, हिबिकस बोर्डिङ स्कुलको भाइस प्रिन्सिपल विजय सिं थेबे, च्याम्पियन स्कुलका भाइसप्रिन्सिपल एविन राई, सल्लाहकार राजेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

वक्तृत्वकलाको निर्णायकमा ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ, उपप्राध्यापक तथा स्काउटर केशव पुरी रहेका थिए । कार्यक्रम स्काउटर निशा योगीले चलाएकी थिइन् ।
समाजमा लागुपदार्थका प्रयोक्ता दिनानुदिन बढिरहेका र यसलाई रोकथाम गर्ने उपायका बारेमा विद्यार्थीहरुमा ज्ञान र चेतना बढोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा प्रथम आशा एकेडेमीका स्काउट छात्रा अनुपा शर्मा, हिबिकस स्कुलका प्रनिता तामाङ द्वितीय , के के इन्टरनेसनल स्कुलकी रिनछेन तामाङ तृतीय र आइडल स्कुलकी छात्रा स्निग्धा पौडेलले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

स्व. अनुप योन्जन तामाङ स्थानीय स्काउट कार्यालय धरानका संस्थापक प्रमुख आयुक्त थिए । धरानमा स्काउट शिक्षा विकासको योजनाबद्ध सुरुवात उहाँबाट नै भएको हो । २०८१ असार २८ गते उहाँको असामयिक निधन भएको थियो । स्थानीय स्काउट कार्यालय धरानले प्रत्येक वर्ष उहाँँको स्मृति दिवसमा समसामयिक विषयमा वक्तृत्वकला आयोजना गर्दै आएको छ।




















