साउन १ गतेदेखि धरान नयाँ बसपार्कमा नियममा कडाइ, यात्रुमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २७ गते।

धराने मिडिया : धरान उपमहानगरपालिका–८ स्थित नयाँ बसपार्क साउन १ गतेदेखि कडा नियमसहित पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। बसपार्कलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यका साथ नयाँ व्यवस्थाहरू लागू गर्न लागिएको हो।

नयाँ बसपार्क क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, कार्यवाहक (का.) मेयर आईन्द्र विक्रम बेघा तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा विशेष छलफल तथा स्थलगत अनुगमन सम्पन्न भएको छ। अनुगमनका क्रममा बसपार्क सञ्चालनलाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णयहरू गरिएको जनाइएको छ।

743252160_1660527422746050_7473737698914980984_n (1)

धरान उपमहानगरपालिकाका अनुसार साउन १ गतेदेखि बसपार्क क्षेत्रमा यात्रुसँग अभद्र व्यवहार गर्ने, झोला तानातान गर्ने, जबर्जस्ती गाडीमा चढाउन खोज्ने, तोकिएको शुल्कभन्दा बढी रकम असुल्ने वा कुनै पनि प्रकारको ठगी तथा अनियमिततामा संलग्न व्यक्ति वा संस्थामाथि तत्काल कानुनी कारबाही गरिनेछ।

बसपार्कमा यात्रुको सहज आवागमन सुनिश्चित गर्न टिकट बिक्री, सवारी व्यवस्थापन तथा यात्रु सहायता प्रणालीलाई समेत थप व्यवस्थित बनाइने तयारी गरिएको छ। यात्रुहरूलाई कुनै समस्या परेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।

सुरक्षा व्यवस्थालाई आधुनिक र प्रविधिमैत्री बनाउन बसपार्क परिसरभरि सीसीटीभी क्यामेरा जडान गरी २४सै घण्टा निगरानी गरिने व्यवस्था गरिएको छ। यसबाट आपराधिक गतिविधि नियन्त्रण, विवादको समाधान तथा समग्र सुरक्षा व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

742345768_1660527876079338_8858800075538051951_n (1)

उपमहानगरपालिकाले बस व्यवसायी, कर्मचारी, यात्रु तथा सर्वसाधारणलाई नयाँ नियमहरूको पूर्ण पालना गर्न आग्रह गर्दै बसपार्कलाई अनुशासित, सुरक्षित र सेवामुखी बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

धरानको नयाँ बसपार्क सञ्चालनमा आएपछि पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रुलाई थप व्यवस्थित सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। स्थानीय सरकारको यो पहलले बसपार्कभित्र हुने अव्यवस्था, अनावश्यक भीडभाड, ठगी तथा यात्रुमाथि हुने दुर्व्यवहार नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

742594888_1660528586079267_1839217781305298206_n (1)743425414_1660528176079308_832219471356311706_n (1)743876918_1660528039412655_6337563015333096549_n (1)742381796_1660527676079358_1995470459046108090_n (1)

आधुनिक नयाँ बसपार्क असार १३ गतेदेखि उद्घाटनबाट सञ्चालनमा आएको थियो। उद्घाटन गरिए पनि नयाँ बसपार्क पूर्ण रूपमा सञ्चालन हुन नसकेको थिएन।

उद्घाटनका केहि तस्बिरहरुः

Bus park openingBus park opening (2)Bus park opening (4)Bus park opening (3)Bus park opening (5)