धरान–४, १३ र १४ जोड्ने फलामे पुल उद्घाटन, जुवानेटारवासीका लागि सहज आवागमनको नयाँ आधार

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ३२ गते।

धराने मिडिया : धरान उपमहानगरपालिकाको वडा नं. ४, १३ र १४ लाई जोड्ने सेउती खोलामाथि निर्माण सम्पन्न भएको फलामे पुल बुधबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल देश–विदेशमा रहेका सहयोगीहरूको आर्थिक योगदान तथा स्थानीयवासीको श्रमदान अभियानबाट निर्माण सम्पन्न भएपछि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

बिहान ९ बजे आयोजित उद्घाटन समारोहमा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रिबन काटेर पुलको उद्घाटन गरेका थिए। कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघा, धरान–८ का वडा अध्यक्ष धन बहादुर राई, धरान–४ का कार्यवाहक वडा अध्यक्ष रजिन राई, धरान–४ का निवर्तमान वडा अध्यक्ष धन बहादुर राई लगायतको विशेष उपस्थिति रहेको थियो।

Harka Sampang (4)Dharan-4

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अन्य अतिथिहरूले पुल निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यो पुल केवल भौतिक संरचना मात्र नभई सामुदायिक एकता, श्रमदानको संस्कृति र नागरिक सहभागिताको उत्कृष्ट उदाहरण भएको बताए। उनीहरूले जनसहभागिताबाट सम्पन्न भएको यो परियोजनाले भविष्यमा पनि यस्तै विकास निर्माणका अभियानलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे।

वक्ताहरूले लामो समयसम्म निर्माण कार्य अधुरो रहँदा स्थानीयवासीले आवागमनमा ठूलो सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै सबै पक्षको सहकार्य र जनश्रमदानका कारण अन्ततः पुल निर्माण सम्पन्न भएको बताए। देश तथा विदेशमा रहेका धरानेहरूको आर्थिक सहयोग र स्थानीय समुदायको सक्रिय सहभागिताले सम्भव भएको यस परियोजनालाई धरानको सामूहिक सफलताको नमुना परियोजनाका रूपमा समेत व्याख्या गरिएको थियो।

Harka SampangAaidra bikram beghDhan bahadur rai

विशेषगरी धरान–४ को जुवानेटार क्षेत्रका बासिन्दाले पुल सञ्चालनमा आएपछि प्रत्यक्ष लाभ पाउने भएका छन्। वर्षायाममा सेउती खोला तर्नुपर्ने जोखिम अन्त्य हुनुका साथै दैनिक आवागमन, विद्यार्थीको विद्यालय आउजाउ, कृषि उत्पादन ढुवानी तथा अत्यावश्यक सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले पुल सञ्चालनसँगै विकासका अन्य सम्भावनाहरू पनि विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। उद्घाटनपछि सहभागीहरूले पुलको अवलोकन गर्दै निर्माणमा योगदान पुर्‍याउने सम्पूर्ण सहयोगी, श्रमदाता तथा अभियन्ताप्रति सम्मान र धन्यवाद व्यक्त गरेका थिए।

Harka Sampang (3)Dhan bahadur rai (2)Harka Sampang (2)

लामो समयदेखि प्रतीक्षामा रहेको यो फलामे पुल सञ्चालनमा आएसँगै धरान–४, १३ र १४ बीचको आवागमन थप सुरक्षित, सहज र व्यवस्थित बन्ने विश्वास गरिएको छ। स्थानीयवासीका अनुसार यसले जुवानेटार क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।