विद्युत् मर्मतका लागि राति खटिएको स्कारपियो दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु
समाचारदाता : गोपाल पौडेल
२०८३ असार ३० गते।
धराने मिडिया : विद्युत् लाइन मर्मतका लागि रातिको समयमा खटिएको नेपाल विद्युत् प्राधिकरणको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको ज्यान गएको छ।
दुर्घटना धरान–इटहरी सडकखण्ड अन्तर्गत सेउती पुलदेखि करिब २०० मिटर दक्षिणतर्फ भएको प्रहरीले जनाएको छ। बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी आफैँ अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्राप्त जानकारीअनुसार राति ९ बजेर ५४ मिनेटमा विद्युत् लाइनमा समस्या आएको सूचना प्राप्त भएपछि प्राधिकरणको मर्मत टोली घटनास्थलतर्फ निस्किएको थियो। लाइन मर्मतका लागि जाँदै गर्दा स्कारपियो दुर्घटनामा परेको हो।
दुर्घटनामा परी नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रमा कार्यरत धरान–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्य को मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएका थिए। तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।
घटनाले नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका कर्मचारी तथा स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रतिकूल समय र जोखिमपूर्ण अवस्थामा समेत विद्युत् सेवा सुचारु बनाउन खटिएका कर्मचारीको दुःखद निधनप्रति विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक रूपमा तीव्र गति, सडकको अवस्था वा सवारी साधनमा आएको प्राविधिक समस्यालगायत पक्षलाई आधार मानेर अनुसन्धान भइरहेको बताइएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा रातदिन नभनी सेवामा खटिने कर्मचारीको ज्यान जाने गरी भएको यस घटनाले विद्युत् मर्मत कार्यमा प्रयोग हुने सवारी साधनको सुरक्षा, चालकको कार्य अवस्था तथा जोखिम व्यवस्थापनबारे पुनः गम्भीर प्रश्न उठाएको छ।



















