सरकारी कर्मचारीहरूको पारिश्रमिकमा उल्लेख्य वृद्धि, आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने अपेक्षा
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १६ गते।
धराने मिडिया : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीहरूको पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै निजामती, सेना, प्रहरी, शिक्षक तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले वृद्धि गरिने जानकारी दिएका हुन्।
सरकारले हाल कायम महँगी भत्तालाई यथावत राख्दै थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यससँगै कर्मचारीहरूको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार तल्लो तहका कर्मचारीहरूको न्यूनतम मासिक पारिश्रमिक करिब ४० हजार रुपैयाँ पुग्नेछ भने उच्च तहका कर्मचारीहरूको तलब एक लाख रुपैयाँभन्दा माथि पुग्ने बताइएको छ।
चार वर्षपछि गरिएको तलब पुनरावलोकनलाई बढ्दो महँगी र जीवनयापन खर्चसँग जोडेर हेरिएको छ। सरकारले कर्मचारीहरूको मनोबल वृद्धि तथा सार्वजनिक सेवाको प्रभावकारिता सुधार गर्ने उद्देश्यले पारिश्रमिक वृद्धि गरिएको जनाएको छ।




















