धरानमा ‘स्वर लाइभ’ आयोजना हुँदै, चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ २० गते।

धराने मिडिया :  आगामी जुन १२ मा धरानमा बहुप्रतीक्षित सांगीतिक कार्यक्रम ‘स्वर लाइभ’ आयोजना हुने भएको छ। आयोजकका अनुसार धरान रंगशालामा हुने उक्त कार्यक्रमले संगीतप्रेमीहरूलाई मनोरञ्जनका साथ अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा लोकप्रिय गायिका सिम्मा राई, ९०'s धरानेज्ज्ज ब्यान्ड, जाइलर्स–द वाकिङ क्लाउड्स तथा रोहित एण्ड द क्रूको विशेष प्रस्तुति रहनेछ। विभिन्न शैलीका गीत–संगीत प्रस्तुत गरिने भएकाले कार्यक्रमले युवा तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता आकर्षित गर्ने विश्वास आयोजकको छ।

जुन १२ तारिख साँझ ५ बजेदेखि कार्यक्रमस्थलको प्रवेशद्वार खुला गरिने जनाइएको छ। धरान रंगशालामा आयोजना हुने कार्यक्रमका लागि अर्ली बर्ड टिकट बिक्री खुला भइसकेको आयोजकले जनाएको छ। धरानलाई संगीत र उत्सवको माहोलमा रंगाउने लक्ष्यसहित आयोजना हुन लागेको ‘स्वर लाइभ’ यस वर्षको प्रमुख सांगीतिक कार्यक्रममध्ये एक बन्ने अपेक्षा गरिएको छ।