मिस्टर एण्ड मिस एस.ई.ई २०२६ को उपाधि स्टेला श्रेष्ठ र तारिफ नेपालको शिरमा

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ १५ गते।

धराने मिडिया : धरान–१५ स्थित सदन माध्यमिक विद्यालय को सभाहलमा सम्पन्न “मिस्टर एण्ड मिस एस.ई.ई २०२६” प्रतियोगिताको उपाधि स्टेला श्रेष्ठ र तारिफ नेपालले जित्न सफल भएका छन् ।

ड्रिम्स एण्ड प्रोडक्सन प्रा.लि को आयोजनामा सम्पन्न प्रतियोगितामा एस.ई.ई. दिएका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामार्फत सहभागीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा स्टेज प्रस्तुति कला प्रदर्शन गरेका थिए । कार्यक्रममा फेसन प्रस्तुति, सांस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएको थियो ।

प्रतियोगिताको मिस्टरतर्फ तारिफ नेपाल प्रथम घोषित भए भने प्रसान चौधरी दोस्रो तथा क्रिस्टियानो सुनवार तेस्रो स्थान हासिल गर्न सफल भए । त्यस्तै मिसतर्फ स्टेला श्रेष्ठले उपाधि जितिन् भने समिक्ष धामी दोस्रो, स्वास्ती अधिकारी तेस्रो तथा युफु मगर चौथो स्थानमा चयन भइन् ।

Mister and miss province 2026 winner (2)

कार्यक्रमका प्रमुख अतिथि रमेश राई ले यस्ता प्रतियोगिताले युवापुस्ताको क्षमता तथा सिर्जनशीलतालाई उजागर गर्ने बताए । उनले विद्यार्थीहरूलाई आत्मविश्वासी र अनुशासित बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।

प्रतियोगिताको प्रमुख निर्णायकमा पृथ्वीया थापा रहेकी थिइन् । साथै निर्णायकको भूमिकामा आदेश प्रधान तथा फेसन डिजाइनर विभेश राई रहेका थिए । निर्णायकहरूले सहभागीहरूको आत्मविश्वास, प्रस्तुति शैली, प्रतिभा तथा व्यक्तित्वका आधारमा नतिजा सार्वजनिक गरेका थिए ।

कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बु ले गरेकी थिइन् । आयोजक संस्थाले आगामी दिनमा पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Mister and miss province 2026 winner (3)

प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत पनि सहभागीहरू सम्मानित भएका छन् ।

मिसतर्फ मोस्ट ओबिडियन्ट अवार्ड सुप्रभा पाण्डेले प्राप्त गरिन् भने मिस ट्यालेन्ट अवार्ड युफु मगरले जितिन् । त्यसैगरी मिस फोटोजेनिक अवार्ड समिक्षा धामीलाई प्रदान गरिएको थियो ।

मोस्ट एक्टिभ अवार्ड स्वास्ती अधिकारीले प्राप्त गर्दा मल्टिमिडिया च्वाइस अवार्ड स्टेला श्रेष्ठले हात पारिन् । त्यस्तै पब्लिक च्वाइस अवार्ड सुप्रभा पाण्डेले जितिन् ।

See sunsari 2026 winner

त्यसैगरी मिस्टरतर्फ मोस्ट ट्यालेन्ट अवार्ड क्रिस्टियानो सुनवारले प्राप्त गरे भने मल्टिमिडिया च्वाइस अवार्ड प्रसान चौधरीलाई प्रदान गरिएको थियो ।

मोस्ट एक्टिभ अवार्ड तारिफ नेपालले जितेका थिए भने पब्लिक च्वाइस अवार्ड प्रसान चौधरीले हात पारे ।

प्रतियोगिताको कोरियोग्राफी स्वेता भुजेल ले गरेकी थिइन् । उनले प्रतियोगीहरूलाई स्टेज प्रस्तुति, र्याम्प वाक तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेकी आयोजकले जनाएको छ ।