समर म्युजिक फेस्ट २०२६ मा गायिका सिमा राईको दमदार प्रस्तुति, धरान रंगशालामा ५ हजारभन्दा बढी दर्शकको उत्साह
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ ३० गते।
धराने मिडिया : धरानको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउँदै आयोजित समर म्युजिक फेस्ट २०२६ मा चर्चित गायिका सिमा राईले आकर्षक प्रस्तुति दिएकी छन्। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरान रंगशालामा सम्पन्न कार्यक्रममा हजारौं संगीतप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो।
शुक्रबार साँझ आयोजित उक्त कार्यक्रम साँझदेखि नै दर्शकको भीडले भरिएको थियो। आयोजकका अनुसार कार्यक्रममा ५ हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए। धरान तथा आसपासका क्षेत्रबाट आएका युवायुवती, संगीतप्रेमी र परिवारसहितका दर्शकले कार्यक्रमलाई उत्साहका साथ अवलोकन गरेका थिए।



गायिका सिमा राईले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा रंगशालामा उपस्थित दर्शकहरू नाच्दै, गाउदै र ताली बजाउँदै साथ दिएका थिए। उनको ऊर्जावान प्रस्तुति र दर्शकसँगको आत्मीय संवादले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।
समर म्युजिक फेस्ट २०२६ को मुख्य उद्देश्य स्थानीय स्तरमा सांगीतिक मनोरञ्जनको प्रवर्द्धन गर्नुका साथै कलाकार र दर्शकबीच प्रत्यक्ष अन्तरक्रियाको वातावरण सिर्जना गर्नु रहेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कार्यक्रमका लागि आधुनिक ध्वनि, प्रकाश र मञ्च व्यवस्थापन गरिएको थियो, जसले प्रस्तुति अझ आकर्षक बनाएको देखिन्थ्यो।



धरान रंगशालामा आयोजित यस महोत्सवले स्थानीय पर्यटन, व्यापार तथा मनोरञ्जन क्षेत्रलाई समेत सकारात्मक ऊर्जा दिएको सहभागीहरूको भनाइ थियो। विभिन्न उमेर समूहका दर्शकहरूको उल्लेखनीय उपस्थितिले धरानमा यस्ता सांगीतिक कार्यक्रमप्रति बढ्दो आकर्षण देखिएको छ।
कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। समर म्युजिक फेस्ट २०२६ ले धरानको सांगीतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता भव्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ।





















