एकैदिन तोलामै १० हजार १०० रुपैयाँले घट्यो सुनको मुल्य

२०८३ जेठ २७ गते।

धराने मिडिया : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। विगत लामो समयदेखि लगातार बढेर कायम गरिरहेको सुनको मूल्यमा सम्भवतः ठूलो गिरावट हो।

आज छापावाल सुनको मूल्यमा एकैदिन तोलामा १० हजार १०० रुपैयाँले कमी आएको  हो। विवाह र चाडपर्वको सिजन नजिकिँदै गर्दा सुनको मूल्यमा आएको यो ठूलो गिरावटका कारण बजारमा उपभोक्ताहरूको चहलपहल र माग निकै बढ्ने अनुमान गरिएको छ। विगत केही महिनादेखि उच्च मूल्यका कारण सुनको कारोबार सुस्त बनेको थियो।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सुन र चाँदी दुवैको मूल्य सस्तिएपछि समग्र सुनचाँदी बजारमा सकारात्मक ऊर्जा थपिएको र कारोबारले गति लिने व्यवसायीहरूको अपेक्षा छ।

व्यवसायीहरूका अनुसार नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको दरका आधारमा हुन्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग र आपूर्तिमा आएको परिवर्तन, अमेरिकी डलरको मजबुती, वा सेयर बजारमा देखिएको सुधारका कारण विश्व बजारमै सुनको मूल्य ओरालो लागेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो।