२६ दिनपछि अनशन तोडे सोनम वाङ्चुक, सरकारसँग वार्तापछि निर्णय

समाचारदाता : गोपाल पौडेल

२०८३ साउन ८ गते।

धराने मिडिया : लद्दाखका वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्।

वाङ्चुकले गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, साथै लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा जुस पिएर अनशन तोडे।

मध्यरातपछि सार्वजनिक गरेको वक्तव्यमा वाङ्चुकले विभिन्न सर्तहरूमा सरकारसँग लामो वार्ता भएको र "देशमा सम्भावित हिंसात्मक अवस्था सिर्जना हुन नदिन" आफूले अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्।

अस्पतालबाट सार्वजनिक भएका दृश्यहरूमा मन्त्री जितेन्द्र सिंहले वाङ्चुकलाई उठ्न सहयोग गरिरहेका छन् भने जेपी नड्डाले उनलाई पहिलो घुट्को पिउन दिएका देखिन्छन्। सो अवसरमा उनकी पत्नी गीताञ्जली आङ्मो पनि उपस्थित थिइन्।

वाङ्चुकले आफूले किन र कुन–कुन सर्तमा अनशन अन्त्य गर्ने निर्णय गरे भन्नेबारे छिट्टै विस्तृत भिडियो सन्देश सार्वजनिक गर्ने बताएका छन्।

उनले गत जुन २८ देखि सुरु गरेको आमरण अनशन लद्दाखका लागि संवैधानिक सुरक्षा, स्थानीय जनताको अधिकारको संरक्षण तथा क्षेत्रको पहिचान र वातावरणीय संरक्षण सुनिश्चित गर्नुपर्ने मागसँग जोडिएको आन्दोलनको प्रमुख केन्द्र बनेको थियो।

यसबीच, वाङ्चुकले सरकारसँग भएको सहमति र आगामी कदमबारे थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।