गछियामा माउन्ट मकालु स्काउट ट्रुपको १०औँ स्थापना दिवस तथा 'दशक यात्रा' विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

समाचारदाता : बब्लु शाह

मोरङ,  २०८३ साउन ४ गते।

धराने मिडिया : ​मोरङको सुन्दरहरैँचा-३, गछियास्थित माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा सञ्चालित माउन्ट मकालु स्काउट ट्रुपको १०औँ स्थापना दिवस (दशक यात्रा) तथा विशेष सम्मान कार्यक्रम भव्य समारोहका बीच सम्पन्न भएको छ।

​नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रबिन दहालको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक हेमन्त कार्कीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

ट्रुपको स्थापना कालदेखि हालसम्म प्रमुख अतिथि रबिन दहालले पुर्‍याउनु भएको अतुलनीय योगदान, निरन्तरको मार्गदर्शन र अथक पहलकदमीको उच्च कदर गर्दै विद्यालय र मकालु स्काउट परिवारको तर्फबाट उहाँलाई विशेष सम्मान गरिएको थियो।

​कार्यक्रमको एक विशेष आकर्षणका रूपमा मकालु स्काउट ट्रुपको ऐतिहासिक १० वर्ष पूरा भएको सुखद अवसरमा तयार पारिएको "१० वर्षे विशेष स्कार्फ" प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र सभापतिद्वारा संयुक्त रूपमा सार्वजनिक (अनावरण) गरिएको थियो। सोही ऐतिहासिक अवसरमा प्रमुख अतिथि रबिन दहालको हातबाट स्काउट लिडर बब्लु शाहलाई 'एडभान्स स्काउट मास्टर स्कार्फ' (Advanced Scarf) प्रदान गरिएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि रबिन दहालले माउन्ट मकालु आवासीय मा.वि. ले शैक्षिक क्षेत्रका साथै स्काउटिङ अभियानलाई अगाडि बढाउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले स्काउटले विद्यार्थीहरूमा अनुशासित, स्वावलम्बी र देशभक्त नागरिक बन्ने जग बसाल्ने उल्लेख गर्दै मकालु स्काउट ट्रुपको १० वर्षको यात्रा आफैँमा गौरवपूर्ण रहेको र यसले आगामी दिनमा अझ नयाँ उचाई लिने विश्वास व्यक्त गर्नुभयो।

WhatsApp Image 2026-07-20 at 1.17.55 PM

​त्यस्तै, कार्यक्रमका सभापति एवं विद्यालयका प्रधानाध्यापक हेमन्त कार्कीले आफ्नो मन्तव्य राख्दै भावुक बन्नुभयो। उहाँले भन्नुभयो, "माउन्ट मकालु स्काउट ट्रुप स्थापना गरेको त हिजो जस्तो मात्र लाग्थ्यो, तर हेर्दाहेर्दै १० वर्ष पूरा भएछ। यो एक दशकको यात्रा र व्यवस्थापन पक्कै पनि सहज थिएन, तर सबैको साथ, सहयोग र विशेष गरी रबिन सरको निरन्तरको जग बसाई र पहलकदमीका कारण आज हामी यो ऐतिहासिक मोडमा आइपुगेका छौँ।" उहाँले ट्रुपलाई यहाँसम्म ल्याउन योगदान गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।

​यसअघि कार्यक्रममा स्काउट लिडर बब्लु शाहले आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै मकालु स्काउट ट्रुपको १० वर्षको ऐतिहासिक पृष्ठभूमि, संघर्ष र सफलताका कथाहरू सहितको संक्षिप्त इतिहास प्रस्तुत गर्नुभएको थियो। अत्यन्तै व्यवस्थित र गरिमामय रूपमा सम्पन्न भएको उक्त समारोहको सञ्चालन स्काउट सोफिया थापाले गर्नुभएको थियो।

​समारोहमा काठमाडौँ, हेटौँडालगायत देशका विभिन्न क्षेत्रबाट आएका वरिष्ठ स्काउट लिडरहरू,  स्काउट प्रेमीहरू,  शिक्षक-शिक्षिका तथा स्काउट भाइबहिनीहरूको बाक्लो र उत्साहजनक सहभागिता रहेको थियो। पूर्ण स्काउट पोशाकमा सजिएका स्काउटहरूको मार्चपास र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।