चलचित्र ‘गौँउथली’ आजबाट देशव्यापी प्रदर्शनमा, धरानको फ्रेन्स सिनेमामा दुई शो

समाचारदाता : गोपाल पौडेल

२०८३ साउन १ गते।

धराने मिडिया : नेपाली पारिवारिक चलचित्र ‘गौँउथली’ आज (साउन १ गते) देखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध, गाउँको परिवेश र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले प्रदर्शनअघि नै दर्शकबाट सकारात्मक अपेक्षा बटुलेको छ।

चलचित्रका निर्देशक कपिल रिजाल हुन् भने यसको कथा डा. भोला रिजालले लेखेका हुन्। चलचित्रका निर्माता सुमन गिरि र डा. कपिल रिजाल रहेका छन्। निर्माण टिमका अनुसार ‘गौँउथली’ नेपाली समाजको मौलिक परिवेश, परिवारभित्रका सम्बन्ध, मानवीय संवेदना र सामाजिक मूल्यलाई सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लूनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सेना, लक्ष्मीनाथ तिमिल्सेना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। त्यसैगरी बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

प्रदर्शनअघि आयोजित विशेष प्रिमियर शोमा चलचित्रले दर्शक तथा चलचित्रकर्मीबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। प्रिमियरमा सहभागी अधिकांशले चलचित्रको कथा, अभिनय, निर्देशन र पारिवारिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। विशेषगरी नेपाली समाजको यथार्थ चित्रण र भावनात्मक प्रस्तुतीकरणले दर्शकलाई प्रभावित बनाएको प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

निर्माण पक्षका अनुसार ‘गौँउथली’ सम्पूर्ण परिवारसँग बसेर हेर्न मिल्ने चलचित्र हो। चलचित्रले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

धरानका दर्शकका लागि चलचित्र फ्रेन्स सिनेमामा आज दुई वटा शो तय गरिएको छ। पहिलो शो दिउँसो १२:४५ बजे र दोस्रो शो साँझ ६:०० बजे प्रदर्शन हुनेछ। निर्माण टिमले नेपाली चलचित्रप्रेमीलाई हलमै पुगेर चलचित्र हेरी नेपाली चलचित्र उद्योगलाई साथ दिन आग्रह गरेको छ।

पारिवारिक कथावस्तु, अनुभवी कलाकारहरूको सशक्त अभिनय र सकारात्मक प्रतिक्रियाका कारण ‘गौँउथली’ यस वर्षको चर्चित नेपाली चलचित्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ।