विजयपुर दरबार परिसरमा वृहत् सरसफाई कार्यक्रम सम्पन्न, ऐतिहासिक सम्पदा संरक्षणमा स्थानीयको ऐक्यबद्धता
समाचारदाता : गोपाल पौडेल
२०८३ साउन २ गते।
धराने मिडिया : धरान–१४ स्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको विजयपुर सिरान दरबार परिसरमा शनिबार वृहत् सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा सम्पन्न कार्यक्रम विजयपुर बचाउ आन्दोलनअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा विजयपुर क्षेत्रका विभिन्न सामाजिक संघसंस्था, थरगत संगठन, थुमगत संस्था, राजनीतिक दलका प्रतिनिधि, स्वतन्त्र नागरिक, बुद्धिजीवी, युवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दरबार परिसर र आसपासको जङ्गल क्षेत्रमा उम्रिएको झारपात हटाउने, फोहोर संकलन गर्ने तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने कार्य गरेका थिए।

आयोजक समितिका अनुसार विजयपुर दरबार परिसर केवल धार्मिक वा पर्यटकीय स्थल मात्र नभई लिम्बुवान सभ्यता, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण सबैको साझा दायित्व हो। पछिल्लो समय अतिक्रमण, बेवास्ता र जङ्गलले ढाकिँदै जाँदा ऐतिहासिक संरचनाको अस्तित्व नै जोखिममा पर्ने अवस्था सिर्जना भएकाले नियमित सरसफाई तथा संरक्षण अभियान सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले विजयपुर दरबार परिसरको संरक्षण, व्यवस्थापन तथा विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना बनाएर आवश्यक बजेट विनियोजन गर्नुपर्ने मागसमेत गरेका छन्। उनीहरूले ऐतिहासिक सम्पदाको संरक्षणसँगै यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

विजयपुर बचाउ आन्दोलन
विजयपुर बचाउ आन्दोलन ऐतिहासिक विजयपुर दरबार क्षेत्रको संरक्षण, अतिक्रमण रोकथाम, पुरातात्त्विक सम्पदाको जगेर्ना तथा यसको मौलिक स्वरूप कायम राख्ने उद्देश्यले सञ्चालन हुँदै आएको अभियान हो। यस अभियानअन्तर्गत समय–समयमा सरसफाई, जनचेतनामूलक कार्यक्रम, छलफल, अन्तरक्रिया तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने गतिविधिहरू सञ्चालन गरिँदै आएका छन्।
विजयपुर दरबार परिसरको ऐतिहासिक महत्व
धरान–१४ मा अवस्थित विजयपुर दरबार परिसर नेपालको पूर्वी भूभागको अत्यन्त महत्वपूर्ण ऐतिहासिक स्थलमध्ये एक मानिन्छ। इतिहासअनुसार विजयपुर तत्कालीन लिम्बुवान राज्यको राजधानीका रूपमा परिचित थियो। सेन वंश तथा त्यसपछिका विभिन्न शासकीय कालमा पनि विजयपुरले पूर्वी नेपालको प्रशासनिक, राजनीतिक र सांस्कृतिक केन्द्रका रूपमा महत्वपूर्ण भूमिका खेलेको इतिहास पाइन्छ।

विजयपुर क्षेत्रमा अहिले पनि पुराना दरबारका भग्नावशेष, ऐतिहासिक संरचनाका अवशेष तथा विभिन्न धार्मिक सम्पदाहरू रहेका छन्। यस क्षेत्रमै प्रसिद्ध बुढासुब्बा मन्दिर, पिण्डेश्वर बाबा धाम, दन्तकाली मन्दिर र पञ्चकन्या मन्दिर जस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाहरू अवस्थित छन्, जसले विजयपुर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा समेत परिचित बनाएको छ।
इतिहासविद्हरूका अनुसार विजयपुर दरबार परिसर लिम्बुवानको राजनीतिक इतिहास, संस्कृति र सभ्यताको महत्वपूर्ण प्रमाण भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु भावी पुस्ताका लागि ऐतिहासिक दायित्व हो। स्थानीयवासीले पनि विजयपुरको मौलिक पहिचान जोगाउन नियमित रूपमा संरक्षण अभियान सञ्चालन गर्दै आएका छन्।



















