धरानमा बोलबमको पहिलो सोमबार : पिण्डेश्वर बाबाधाममा श्रद्धालुको उल्लेख्य उपस्थिति

समाचारदाता : गोपाल पौडेल

२०८३ साउन ५ गते।

धराने मिडिया : साउन महिनाको पहिलो सोमबार धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर डाँडामा रहेको प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा दर्शन तथा पूजा–आराधना गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ। बिहानैदेखि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत आएका भक्तजनले लामबद्ध रूपमा भगवान शिवको पूजा–आराधना गरेका छन्।

साउन महिनाभर सञ्चालन हुने बोलबम यात्राअन्तर्गत भक्तजनहरूले सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा अभिषेक गरेका छन्। काँधमा काँवर बोकेर, बोलबमको जयघोष गर्दै सयौँ श्रद्धालु मन्दिर पुगेका थिए। भक्तजनहरूले जलसँगै बेलपत्र, धतुरो, फूल तथा विभिन्न पूजा सामग्री चढाई भगवान शिवको आराधना गरेका छन्।

धार्मिक मान्यताअनुसार सप्तकोशीको पवित्र जल र बेलपत्र पिण्डेश्वर बाबाधाममा चढाएर श्रद्धापूर्वक पूजा गरे मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ। यही आस्थाका कारण प्रत्येक वर्ष साउन महिनाभर हजारौँ भक्तजन पिण्डेश्वर पुग्ने गरेका छन्। विशेषगरी सोमबारका दिन मन्दिर परिसरमा अत्यधिक भीड लाग्ने गर्दछ।

Pindeswar Mandhir

श्रद्धालुको सहज आवतजावत, सुरक्षा र भीड व्यवस्थापनलाई ध्यानमा राख्दै नेपाल प्रहरी, नगर प्रहरी तथा सम्बन्धित निकायका कर्मचारी परिचालन गरिएको छ। मन्दिर परिसर, प्रवेशद्वार तथा मुख्य सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापनसमेत प्रभावकारी रूपमा गरिएको छ। स्वयंसेवकहरूलाई पनि भक्तजनलाई सहयोग गर्न परिचालन गरिएको छ।

बोलबम यात्रा हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक परम्परामध्ये एक मानिन्छ। सदियौँदेखि चलिआएको यस परम्परामा साउन महिनाभर भगवान शिवप्रति श्रद्धा व्यक्त गर्दै नदी, ताल तथा पवित्र जलस्रोतबाट जल ल्याएर शिवालयमा चढाउने चलन रहेको छ। यसले धार्मिक आस्था, संस्कार र सामाजिक एकताको सन्देशसमेत प्रवाह गर्ने विश्वास गरिन्छ।

धरानको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको पिण्डेश्वर बाबाधाम साउन महिनामा विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ। पहिलो सोमबार नै उल्लेख्य संख्यामा भक्तजन उपस्थित भएपछि आगामी सोमबारहरूमा अझ बढी श्रद्धालुको आगमन हुने अपेक्षा गरिएको छ। स्थानीय व्यवसाय, पर्यटन तथा धार्मिक गतिविधिमा समेत बोलबम यात्राले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।