घटस्थापना सगै महाचाड बडादशैँ आजबाट सुरु

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १७ गते ।

धराने मिडिया : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् चाड बडादशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ ।

यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ ।

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । 

त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो ।

धरानको दन्तकाली मन्दिरमा आजदेखि नवरात्र विधि अर्थात् तान्त्रिक र वैदिक विधिद्वारा दन्तकाली भगवतीको पूजा हुंदैछ ‌। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाका लागि शुभ साइत बिहान  ९ बजेर १६ मिनेटको रहेको छ ।