धरान : २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । मोरङ फुटबल सङ्घलाई २-१ गोलले पराजित गर्दैएनआरटीले उपाधि जितेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लब र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटीले दोस्रोपटक उपाधि जितेको हो ।


खेलको सातौँ मिनटमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले रोशन रानाको पासमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए ।


बेस्ट गोलकिपर एनआरटीका पुजन होना, बेस्ट डिफेन्डर मोरङका महेन्द्र कार्की, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी र बेस्टकोच जीवन सिखेमना घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।