१२ वर्षपछिको महाकुम्भ मेला

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा १२ वर्षपछि यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ ।

प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ मेलाले यस वर्ष देखि धरानको पिण्डेश्वर मन्दिरको दर्शनलाई जोडेर पिण्डेश्वर पुर्ण कुम्भ मेलाको तयारी तिब्र पारिएको हो ।

यसपटकको मेलामा ३० लाख पर्यटक आउने आँकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए ।

१२ बर्षमा लाग्ने महाकुम्भ मेलालाई हिन्दु धर्मालम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिने गरिएको छ । कुम्भमेला प्रारम्भ हुनु पाँच दिनअघिदेखि मेला सम्पन्न भएको पाँच दिनपछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने बताइएको छ ।

यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले इङित गरेका भए पनि हाल सम्म जम्मा ५ वटा स्थान मात्र पत्ता लागिसकेका छन । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।

 मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमका अनुसार "कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताए" ।

बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।