विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि आग्रह

धरान : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ।

गृह मन्त्रालयले आज भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेको हो।

उक्त पत्रमा लेखिएको छ,‘मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयहरुमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनहरुको दुर्घटना न्यूनीकरण गर्न सो सवारी साधनहरुको गति निर्धारण गर्न आवश्यक देखिएकोले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई उक्त जिम्मेवारी तोकिएको हुँदा उक्त सवारी साधनहरुको गति निर्धारण नगरिएको भए प्रति घण्टा ४० किलोमिटरभन्दा तल हुने गरी गति निर्धारण गर्ने व्यवस्था मिलाउन तथा गति निर्धारण भएको भए निर्धारित भन्दा बढी गतिमा सवारी चलाउने सवारी साधनहरुलाई ऐ। ऐनको दफा १६४ बमोजिम जरिवाना गर्ने कानूनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन त्यहाँ मन्त्रालयबाट आवश्यक निर्देशन तथा समन्वय हुन आदेशानुसार अनुरोध छ।’