कविता “पार्थक्य”
यस्तै रातहरु थिए, ताराहरु अनि अनिधा आँखाहरु...
उर्लिएर पोखिनलाई आतुर मनभरिका बातहरु....
साथमा सजाएका सुन्दर सपना र भविष्यका कल्पनाहरु,
दुई मुटु कोसौ अलग भएर पनि साथमा धड्केको आभाषहरु थिए ।
म थिए, तिमी थियौ, एउटै संसार थियो....
आज पनि उस्तै रात,
उस्तै ताराहरु, अनिधा आँखाहरु र पोखिनलाई आतुर
मनभरिका बातहरु छन् ।
बस् फरक यति मात्र हो....
साथमा सजाएका सुन्दर सपनाहरु मरेका छन्
भविष्यका कल्पनाहरुको आफ्नै आँखा अघि लाशहरु छन्,
रित्तो भएको मुटु र सम्बन्धमा पर्दाहरु छन् ।
समयले गरेको परिवर्तन,
फराकिदै गएको खाल्डोहरु, नमिलेको हिसाबहरु र
बिछोडले च्यातिदिएको तस्बिरहरु लथालिङ्गै छन्,
म छु तिमी छौ तर यहाँ हामी माझ पृथक संसार छन् ।
कोसौ पर भएर पनि, हृदयको न्यानो स्पर्शको अनुभूति साटेको
ति रातहरु, समय र दुरीका पावन्दिहरु माया संग हारेका ति रातहरु छन्....!!!
आजकल झै बिहानीलाई कुर्नु पर्ने कुनै बाहाना
मनबाट उक्ली आँखाबाट फुत्केका
बाधहरुले सिरानीलाई सिच्नु पर्ने केहि बाध्यताहरु थिएन ।
जहाँ म थिए, अनि उही पुरानो तिमी थियौ,
जसलाई म आफैलाई भन्दा राम्ररी चिन्दथँे र
वास्तविक्तालाई छोप्ने कुनै प्रकारको घुम्टो पनि थिएन ।
आज पनि उस्तै रात,
उस्तै ताराहरु, अनिधा आँखाहरु र पोखिनलाई आतुर
मनभरिका बातहरु छन् ।
बस् फरक यति मात्र हो....
आजकल ति सपना देख्ने आँखाहरु थकितभई लोलाएका छन्
बिछोडमा च्यात्तिएको मन अन्धकार सँग डराउन थालेका छन्
रौं–रौंलाई कल्पाएर
नैराश्यको रोदन सँगै कल्पिएर बग्ने आँशुहरु
यो रातहरुसँग लुकामारी खेलीरहेछन् ।।
–एड्रिनो दिनु थापा