विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारको तयारी, कार्यान्वयन गर्न सुरक्षा युनिट
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख ०६ गते।
धराने मिडिया : विश्वविद्यालय, क्याम्पसलगायत शैक्षिक संस्थाबाट राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनको संरचना हटाउन सरकारले निर्णय गरेको छ। सरकारले यसलाई कार्यान्वयन गर्न सुरक्षा युनिट नै राख्ने तयारी गरेको खबर बाहिरिएको छ।
सरकार क्याम्पसबाट दलीय विद्यार्थी संगठन हटाएर नयाँ गैर–राजनीतिक संरचना ल्याउन चाहन्छ। तर यसलाई लागू गर्न जाँदा सम्भावित विरोधका कारण सुरक्षा युनिट राख्ने तयारी गरिएको हो।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयका उपकुलपतिहरुलाई मन्त्रालयमा डाकेर विद्यार्थी संगठन हटाउन निर्देशन दिएका थिए । चैत २० गते विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा मन्त्री पोखरेलसहित उपकुलपतिको उपस्थितिमा बसेको बैठकको निर्णय सार्वजनिक भएको छ ।


निर्णयमा भनिएको छ, ‘दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भएमा सो ब्यहोराको जानकारी तत्काल सुरक्षा निकायलाई गराउने। साथै विश्वविद्यालय परिसरमा अस्थायी/स्थायी प्रकृतिको सुरक्षा युनिट व्यवस्थापन गर्नु पर्ने अवस्था देखिएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत गृह मन्त्रालयमा अनुरोध गर्ने।’
कार्यतालिका अनुसार दलीय विद्यार्थी संगठनलाई कोठा, भवन, जमिन उपलब्ध नगराउने, ६० दिनभित्र दलीय विद्यार्थी संगठन हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्टको व्यवस्था गर्न कानुन संशोधन गर्ने निर्णय भएको छ ।




















