रतन टाटाको ८६ वर्षको उमेरमा निधन
समाचारदाता : गोपाल पौडेल
२०८१ असोज २४ गते ।
धराने मिडिया : टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।
मुम्बईको एक अस्पतालमा बुधबार उपचारको क्रममा टाटाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रतनले टाटा समूहलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने क्रममा टाटा इन्डिका र टाटा नानो जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका थिए।
उनको निधनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने व्यक्तित्व गुमाएको बताएकी छन्।
सन् २००८ मा, रतन टाटाले भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार, पद्म विभूषण प्राप्त गरेका थिए। यसअघि सन् २००० मा पनि उनलाई पद्मभूषणबाट सम्मानित गरिएको थियो।
रतन टाटाको जन्म १९३७ डिसेम्बर २८ मा भएको थियो। उनले आफ्नो आम्दानीको ठूलो हिस्सा समाजसेवामा खर्च गर्ने गरेका थिए। भारत सरकारले उनलाई पद्म विभूषणले सम्मान गरेको थियो।
टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेसनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ।




















