गौशाला धर्मशाला तत्काललाई खाली नगराउन मन्त्रीको निर्देशन
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक ०२ गते।
धराने मिडिया : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला र धर्मशाला खाली गराउने कार्य तत्कालका लागि स्थगन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्।
पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री पाण्डेले कोषको निर्णयअनुसार धर्मशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने ७ बुँदे समझदारी भएपनि उक्त कार्य रोक्न निर्देशन दिएको हो ।
पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबिच २०६० मा भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाउने समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर दुध ब्यापार गर्दै आएको छ ।
मारवाडी सेवा समितिसँग २०६० सालमा भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी नौबुँदे सम्झौता खारेज गर्ने निर्णय कोष सञ्चालक परिषद्ले २०८० साउन १७ मा गरेको थियो। त्यसविरुद्ध समितिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। त्यसमा सुनुवाइ गर्दै गत असोज १६ मा अदालतले समितिको दाबी नपुग्ने भन्दै सम्झौता खारेजी सदर गरिदिएको थियो।