नेपाल १२ औँ पटक फाइनलमा पराजित
समाचारदाता : गोपाल पौडेल
२०८१ कार्तिक १५ गते।
धराने मिडिया : नेपाल १२ औँ पटक कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ ।
अहिलेसम्म एउटा पनि उपाधि जित्न नसकेको नेपाल बुधबार भएको साफ महिला च्याम्पियनशिपको सातौँ संस्करणमा पनि उपविजेतामा सीमित भएको छ ।
फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।
नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो। त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन्।
तर खेल सकिन नौ मिनेट बाँकी छदा बंगलादेशले फेरि अग्रता लियो। ८१ मिनेटमा ऋतु चक्माले गोल गर्दै दोस्रो पटक अग्रता दिलाइन्। उनले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहारलाई नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले रोक्न सकिनन्।

प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल र भूटानलाई पराजित गर्दै बाङ्लादेश फाइनलमा पुगेका थिए। नेपालले भारतलाई पेनाल्टी सुटआउटमा र बाङ्लादेशले भूटानलाई ७-१ गोल अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा नेपाल, बाङ्लादेश, भारत, पाकिस्तान, भूटान, श्रीलंका र मालदिभ्सले प्रतिस्पर्धा गरेका थिए।



















