सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८१ मंसिर २४ गते ।

धराने मिडिया : झापा, सुनसरी र उदयपुर जिल्लाहरुको छुट्टा छुट्टै स्थानमा मंसिर २२ गते सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

झापा कन्काई नगरपालिका-८ लक्ष्मिपुर स्थित पुर्व पश्चिम लोकमार्गमा ना. ४ च ४०८४ नम्बरको छोटा हात्ति गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ बर्षीय गर्बसिंह राईलाई ठक्कर दिंदा घाईते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको थियो । 

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-६ स्थित पुर्व पश्चिम लोकमार्गमा स्थानिय ९३ बर्षीय अमर बहादुर अधिकारीलाई नम्वर नखुलेको सवारी साधनले ठक्कर दिदा घाईते भई उपचारको लागि इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो ।

हरीनगर गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा को. १ ख ६४३१ नम्बरको टिफरको ठक्करबाट साईकल यात्री देवानगंज गाउँपालिका-७ का ५० बर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको थियो भने उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेमा बा. प्र.०१-००६ ख ५८७१ नम्बरको हाईस गाडीको ठक्करबाट घाईते भएका पैदल यात्री त्रियुगा नगरपालिका-११ का ५५ बर्षीय परनसेर राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो ।

घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।